आफ्नै बुहारीबाट बेचिएकी महिलाको बयान

उनीसंग कुरा गर्दा आखाँ भरिएर आए । उनी हिक्का छोड्दै रुदाँ उनलाई के भनेर सम्झाउने मसंग कुनै शब्द थिएन । झण्डै मेरी आमाको उमेर बराबरकी महिला कुटनैतिक आवरणमा रहेका राक्षसहरुको शिकार बनिन् । उद्धार भएर नेपाल त आईन् । उनी चिन्ता मुक्त अझै थिईनन् । आफ्नै बुहारीले उनलाई बेचेकी थिईन्, पहिला देखी नै वेबास्ता गर्ने छोराहरुको रबैया अब उनी माथी के होला ? केहि त बेचबिखन बिरुद्ध काम गर्ने संस्थाले उनलाई पालेर राखेको छ । त्यहाँबाट निकालेपछि उनी कहाँ जान्छिन् ? कहाँ बस्छिन् ? उनीसंगै उत्तर छैन । उनी कसरी राक्षसहरुको पञ्जामा परिन् ?, उनी माथी के के भयो ?  


आश्विन १, २०७२- सुन्तली तामाङ, ४८ र मीना नेपाली, २६ (दुवैको नाम परिवर्तन), बुधबार केन्द्रीय अनुसन्धान ब्युरोको एउटा कोठामा धुमधुम्ती बसिरहेका थिए । भारतको नयाँदिल्लीस्थित साउदी दूतावासका कर्मचारीले यी दुई महिलालाई तीन महिनादेखि याैन शाेषण गरेका थिए । उनीहरुले आफ्नो सामूहिक बलात्कार भएको बयान दिएका थिए । दार्जिलिङ घर भएकी एक नेपालीभाषी युवतीले यी दुई महिलाको उद्धारमा मद्दत गरेकी थिइन् । उनीहरूलाई एक साताअघिमात्र दिल्लीबाट उद्धार गरी नेपाल ल्याइएको हो । ब्युरोमा उनीहरूलाई नेपालबाट भारत पठाउने दलाल चिनाउन डाकिएको थियो । दिउँसोदेखि नै ल्याएर राखिएका उनीहरू आफूलाई ‘बेच्ने’ महिला र पुरुषको प्रतीक्षा गरिरहेका थिए । ती मध्येकी सुन्तली बेचैन देखिन्थिन् । कारण, उनले आफ्नै बुहारीलाई आफूलाई बेच्ने दलाल भएको प्रमाणित गर्नु थियो । ‘छोराले हेला त गरेको थियो नै, बुहारीले यसरी बेच्ली भन्ने थिएन,’ पछ्यौराको सप्कोले आँसु पुछदै उनले भनिन्, ‘सुख पाउन लेखेकै रहेनछ ।’ 
झन्डै १८ वर्षअघि पतिको कुटपिट सहन नसकी उनी भागेर काठमाडौं आइन् । त्यो बेला जेठो छोरो १५ वर्षका थिए । उनीमुनिका दुई छोरी र छोरा एक/एक वर्षको फरकमा थिए । उनीहरूलाई सासूससुराको साथ छोडेर उनी काठमाडौं आएकी थिइन् । पेट पाल्न र बाँच्न काठमाडौंको एक मेडिकल कलेजमा सरसफाइको काम गरिन् । निकै वर्ष मेडिकल कलेजमा काम गरेपछि एक दिन उनलाई छोरीको फोन आयो । छोरीले आफूले बिहे गरेको भन्दै एक्लै नबस्न आग्रह गरिन् । एक्लो मजदुरी जीवनबाट दिक्क उनी छोरीसँग बस्न तराई झरिन् । छोराहरूले पनि बिहे गरेको खबर उनलाई आइरहेको त थियो, तर छोराहरूले उनको खोजी एकपटक पनि गरेनन् । छोरीको पनि घरको स्थिति खासै राम्रो थिएन । छोराहरूले हेला गरेका बेला उनलाई आफ्नो भविष्यको चिन्ता थियो । अन्तत: उनले विदेश जाने विचार गरिन् । छोरीसँग बसेको ७ वर्षपछि उनी चिनेको मान्छेमार्फत साउदी अरब गइन् । साउदीमा महिनाको ६ सय साउदी मुद्रा पाउने गर्थिन् । उनले खुरुखुरु छोरीलाई पैसा पठाइदिइन् । २ वर्ष बसेपछि नेपाल फर्किएकी उनी छोरीको घर गइन् । छोरीले उनले पठाएको पैसाले सुन किनेर राखिदिएको भने पनि उनलाई न सुन दिइन् न पैसा नै । ‘छोरीको घरमा यतिकै बस्नुभन्दा फेरि विदेश जाने कुरा छोरीसँग गरें,’ उनले भनिन्, ‘छोरीले सुरुमा नजाऊ भन्दै थिई, मैले २ वर्ष बसें भने बुढेसकाललाई खर्च लिएर आउँछु भनेपछि छोरीले पनि सहमति दिई ।’ 

बुहारीले विदेश पठाउने गरेको थाहा पाएकी थिइन् । बुहारीमार्फत नै जाँदा नठगिने उनको विश्वास थियो । बुहारीले दोस्रोपटक साउदी जाने ‘अफर’ दिएकी थिइन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न कठिन हुने भन्दै तामाङलाई बुहारीले ‘नाइट बस’ चढाएर दिल्ली पठाइन् । अर्को दिन बिहान झिसमिसमा उनी दिल्ली पुगिन् । बसपार्कमा बुहारीले लिन आउने भनेका मान्छे थिएनन् । दिनभरि कुर्दा साँझमा उनीहरू आए । उनलाई लिन बुहारीका मान्छे आए । उनलाई कमल थापा भन्नेको घरमा लगेर राखियो । त्यहाँ १० दिन राखेपछि कमलकी पत्नीले सुन्तलीलाई आफूहरूले नबोलाएको भन्दै त्यहाँबाट अन्तै लैजान दबाब दिन थालिन् । कमलले राजु भन्नेको घरमा लगेर राख्यो । राजुकी पत्नी भारतीयको घरमा खाना बनाउने काम गर्थिन् । त्यहाँ एक महिनाजति बसेपछि राजुले उनलाई साउदी कूटनीतिज्ञको घरमा लगेर छाड्यो । त्यहाँ पुर्‍याइदिएबापत साउदी कूटनीतिज्ञले राजुलाई उनकै आँखाअघि २ हजार भारु दिएर पठायो । 
साउदीको घरमा बसेको १५ दिनमा अर्की एक युवती पनि आइपुगिन् । उनी थिइन्, मीना नेपाली । उनलाई पनि सुन्तलीकै बुहारीले साउदी पठाउने लालच देखाएर गाडीबाटै बर्दिया हुँदै भारत छिराएकी थिइन् । उनी सिमाना कटेपछि ट्रेन चढेर दिल्ली पुगिन् । अनि साउदी कुटनीतिज्ञको घरमा काम गर्न पुगिन् । उनका पतिको अल्सरको अप्रेसन गरिएको थियो । दुई छोराछोरी पढाउने र हुर्काउने जिम्मेवारी उनकै हो । त्यसैले उनी विदेश हानिएकी थिइन् । उनीहरूलाई त्यो बीचमा दिल्लीबाट मुम्बई र मुम्बईबाट श्रीलंका हुँदै साउदी लगियो । ती कूटनीतिज्ञले ठूलो घर भाडामा लिएर बस्न थाले । त्यो घरको सबै काम यी दुई महिलाले गर्नुपर्थ्यो । एक महिनामा उनीहरू पुन: दिल्ली फर्किए । त्यहाँ ३ महिना बित्दासमेत उनीहरूले तलब पाएनन् । हिन्दी बोल्ने साउदीलाई तलब माग्दा ‘एजेन्ट’ले पैसा लगिसकेको बताइदियो । अनि मात्र उनीहरू झसंग भए । लुकाएर राखेको मोबाइलबाट कमल भन्नेलाई सुन्तलीले फोन गरिन् । आफ्नो तलब पनि नपाएको र यातना पाउन थालेको बताइन् । कमलले त उनीहरू बेचिइसकेको र एक/एक लाख रुपैयाँ बुहारीले लगेको भन्दै फोन राखिदिए । सुन्तलीलाई अनि मात्र थाहा भयो आफूलाई बुहारीले नै बेचेको । त्यसपछि उनीहरूको नारकीय जीवन सुरु भयो । उनीहरूलाई घरबाहिर निस्कन दिन छाडियो । खान दिन छाडियो । ‘उनीहरूले खाएर छाडेको भात खान खोज्दा थाल फ्यालिदिन्थे, चिया खान खोज्दा कप झारेर फुटाइदिन्थे,’ सुन्तलीले सुनाइन् ‘फर्केर आइएला भन्ने नै थिएन ।’ उनीहरूलाई कुटपिट त सामान्य झैं भएको थियो । कूटनीतिज्ञको घरमा उनीहरूको शारीरिक शोषण त हुन्थ्यो नै, यौन शोषण पनि हुन थाल्यो । बलात्कार गर्न थालेपछि सुरुवाती दिनमा हारगुहार माग्दा उनको हातमा चक्कु तताएर पोलेको लामो दाग त्यसै छ । टाउको ठोक्काएर उठेको टुटुल्को अझै बसेको छैन । १२ तला माथिको अपार्टमेन्टको सानो स्टोर रुमजस्तो कोठामा उनीहरूलाई सुत्न दिएको थियो । त्यो कोठामा साहुले आएर उनीहरूलाई बलात्कार गर्थे । साहु घरमा दूतावासका अरू कर्मचारी र भारतीयहरूलाई समेत लिएर आउने गर्थे । ‘श्रीमती र छोरा–छोरीलाई बाहिर पठाएर हामीलाई बलात्कार गर्थे,’ उनले सुनाइन्, ‘एकै दिनमा ६/७ जना समेत आएर बलात्कार गर्थे ।’ श्रीमतीलाई सुनाए कसैले लास समेत नभेट्ने गरी मारेर गाडिदिन्छु भन्दै धम्क्याउने गर्थे । एक जनालाई बलात्कार गरेका बेला अर्कीको मुख कम्मलले छोपिदिन्थे । ‘भाग्ने कुनै उपाय थिएन, मर्नुभन्दा सहनु निको भनेर बसेका थियौं,’ उनले सुनाइन् । त्यहीबीचमा त्यो घरमा काम गर्न दार्जिलिङ घर भएकी नितु भन्ने युवती आइन् । ती युवतीलाई पनि घरेलु कामदारका रूपमा ल्याइएको थियो । उनीमाथि हुने यौन दुराचार नितुले नदेख्ने गरी हुन्थ्यो । तर, खान नदिएको र कुटपिट गरेको भने नितुलाई समेत थाहा भयो । उनी पाँच दिन त्यहाँ बसेर भागिन् । उनले जसरी पनि छुटाउँछु भन्दै आफ्नो मोबाइल नम्बर दिएर भागेको केही दिनपछि उनीहरू बसेको स्थानमा भारतीय प्रहरीले छापा मारेर उद्धार गरेको थियो । सुन्तलीका लुगा कपडा, मोबाइल सेट सबै साउदी साहुको घरमा छ । उनी यता आफूलाई बेच्नेविरुद्ध मुद्दा दायर गरेपछि एकपटक भारत जाने सोचमा छिन् । भारतीय प्रहरीले पनि साउदी कूटनीतिज्ञविरुद्ध पीडित महिलाबाट जाहेरी लिएको छ ।
प्रकाशित: आश्विन १, २०७२

Comments

Popular posts from this blog

मेरा हुलाकी बुवा

जहाँ गए नि स्वाद नेपाली

फोनमा कुरा गर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या