अन्तिम शब्द

सास फेर्न मैले पनि पाउनुपर्छ

सुनेकी थिएँ, गर्भमा ९ महिना बच्चा राख्न गाह्रो हुन्छ रे । जन्माउँदा आमाले पाउने प्रसब पिडा उतिकै खपिनसक्नु गाह्रो हुन्छ रे ।
मासिक रक्तश्राप भएर शरिरबाट केहि थोपा रगत निस्कदाँ पेट दुखेर मरिहत्ते हुन्थ्यो । आमाले मलाई कति मुस्किलले जन्माइन् होला । तराईमा खानपिउन उतिकै गाह्रो थियो । बाचिञ्जेलसम्म मैले यहि सोचिरहें, धेरै पटक सोचिरहें । आमा भगवानको अर्को रुप थिइन् । लाग्थ्यो, आमाको चर्चा नगरि मेरा दिन जादैन थिएं । आमा मेरा लागि के थिईन्न र ? तपाईलाई यो बताईरहदाँ, म यो संसारमा छुईन । 
मेरी आमाले मलाई घाँटी थिचेर मारिन् । फेर्दा फेर्दैको सास रोकियो । आमाले नै प्राण लिन खोजेको देखेर होला । मेरो शरिरले बचाउका लागि केहि हरकत गरेन । सायद भित्र भित्रै मरिसकेको थियो । या भनौं, आमाको त्यो रुप देखेर सद्मामा गएको थियो । आमाले मात्र कहाँ हो र ? बुवा र आमाले मिलेर मलाई मारे ।
थाहा छ किन मारेका अरे मलाई ? मेरो चालचलन ठिक भएन अरे । म काठमाडौंमा पढ्दै गरेको मेरो क्याम्पस ब्यवस्पानले मेरो चरित्र ठिक नभएको निचोड निकालेर बुवालाई खबर गरिदिएको अरे । चालचलन भनेको के हो ? यो कसरी मापन हुन्छ ? हाँसेर दुई चार जनासंग बोल्नै नहुने ? केटा साथी बनाउनै नपाउने ? यति पनि छुट दिन नसक्ने भए जन्माएको किन ? आमाले ९ महिना पेटमा बोकेको किन ? आमालाई जन्माउन हुर्काउन भन्दा अहिले १९ बर्षको कलकलाउँदो जीवनमा छोरीको प्राण लिन सजिलो किन ?
अहिले सोच्दैछु बुवा आमाका लागि छोरी के हो ? कसैले भन्ला, घरकी लक्ष्मी, कसैले घरका गहना,  कसैले कुलको इज्जत । इज्जत छोरीका कारण मात्र किन जाने ? छोरी नै हिंसाका शिकार किन हुने ?

...........
 त्यो दिन काठमाडौंको बिहानमा खासै फरक त थिएन । घाम त्यहि ठाउँबाट उदाएको थियो । फरक यति थियो, बिहान मेरो कोठाको ढोका खोल्दा ठिङरिङग उभिएका आफ्ना बाबु देखें । उनी त्यहाँ किन थिए, थाहा थिएन । मेरो हाल खबर पनि सोधेनन् । अचानक झोला बाँध घर जाने भन्न थाले, मैले आनाकानी गर्दै कारण सोधें । उनले बोल्न नदिई, जबरजस्ती मलाई लिएर घर गए ।
कलंकीबाट हामी चढेको बस छुट्यो । बससंगै काठमाडौंसंगको मेरो साथ पनि ।  बाटाभरी बाबु छोरी बिच केहि संवाद भएन । मेरा मनमा भने अनेंकौ कुरा खेलिरहे । बिचमा पढाई छाडेर मलाई कता लग्या होलान ? किन होला ?  बुवाले नबुझेको कुरा आमाले बुझलिन् भन्ने बिश्वास थियो ।बच्चपनमा पनि बाबुले पिट्न खोज्दा कैयौं  पटक आमाको धोतीको फेरो भित्र लुकेर बाबु कुटाईबाट बचेंकी थिएं । मनमा त्यो आश जिवीतै थियो । 
घर नपुग्दासम्म म माथी के हुदैंछ, मलाई थाहा थिएन । मेरो बिहेको कुरो छिनेको थियो । गाउँकै एक युवकसंग । कुरो छिनेपछि ति युवकलाई म मनपरिनछु, अनि उनले बिहेको लागि इन्कार गरिदिएछन् । मेरो बाबु आमाले त्यसको दोष पनि मलाई नै दिए । मैले काठमाडौंमा केटा साथीहरु बनाएर अक्षम्य अपराध गरेकी रैछु, मेरा अभिभाबकको नजरमा  ।
आमालाई टाउको झुकाएर ढोग गर्दा आर्शिवाद देलिन भन्ने आश थियो । आमा बाबु त मलाई मार्ने योजना बनाइसकेका रहेछन् । त्यति मात्र कहाँ हो र ? मारेपछि कसरी मेरो लास जलाउने देखी कसरी प्रहरीसंग जोगिनेसम्मका तयारी गरेर मलाई लिन आएका रहेछन् । मलाई उनैले धरतीमा ल्याए । अनि उनैले मेरो इच्छा बिना नै धड्कन रोके ।
बाबु आमाले कुटीकुटी मेरो हत्या गरेर मलाई जलाइरहेका थिए । म जलिरहेको आगोबाट निस्किएको धुवाँले चिच्याइ चिच्याई भनिरहेको थियो, आमा बुवाका लागि अभिषाप थिएँ म ।  धुवाँ र खरानी भएर आकाशमा समाहित हुन खोजिरहदाँ आमाको अनुहार हेरेकी थिएँ, उनको अनुहारमा  पश्चाताप अलिकति पनि देखिन । अनि मलाई आमा भन्ने शब्दसंग घृणा भयो ।
टेलिभिजन र सामाजिक सञ्जालमा आमा बाबुले नै छोरीहरु मारेको समाचार र कहानी सुन्दै आएकी थिएं । अचम्म लाग्थो, कस्तो मन भएका आमा बुवाले त्यस्तो गर्छन् होला जस्तो लाग्थो । आज आफ्नै बाबु आमाले मलाई त्यसरी नै मारे । तपाई यो पढ्दै गर्दा म कहिं कतै आकाशमा हुनेछु । बादलमा धुवाँ भएर बिलिन भइसकेको हुनेछु ।
यति भन्न चाहन्छु, समाज र दुनियाँलाई देखाउन कै लागि मात्र छोरीको जीवन होइन । पुतलीले पनि पखेटा लागेपछि आफ्ना छोरा छोरीलाई उड्न दिन्छ । के तपाई दिन सक्नुहुन्न ? त्यति आजादी दिन सक्त्तैनौं भने गर्भमै मारिदेउ ।
(जनकपुरमा आमा बुवाले नै कुटेर हत्या गरेकी १९ बर्षिय किशोरीमा समर्पित)

Comments

Popular posts from this blog

मेरा हुलाकी बुवा

जहाँ गए नि स्वाद नेपाली

फोनमा कुरा गर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या