भुकम्पका समाचार

 स्कुटर चलाएर तीनकुने स्थित कान्तिपूर कार्यालय जादैं थिएँ । थापागाउँको उकालोमा मान्छेहरुको भागम् भाग के लागि भनेर ठम्याउन नपाउदैं स्कुटरसंगै म पनि सडकमा लडें । गति कम भएका कारण चोट लागेन । हतार हतार स्कुटरको साँचो थुतेर अरु मान्छे भागे तिर म पनि भागें । कम्पन कम भएको महसुस गरेपछि स्कुटर उठाएर म तीनकुने तिर लाग्दै थिएँ । सडकभरी मान्छे देखेर मनमा अलि अलि रिस उठ्यो । ‘भुकम्प बन्द भैसक्यो, किन सडकमा मान्छे उभिएका होलान्’ भन्दै मनै मन रिसाउँदै कान्तिपुर पुगें । स्कुटर सिधै भित्र लैजान लाग्दा ‘चिफ रिर्पोटर’ बलराम बानियाँले देखेर कराउँदै भित्र जानबाट रोके । हामी काम गर्ने गरेको कान्तिपुरको मुख्य भवन त चर्किसकेछ । अनि पो थाहा भो, कम्पन आउने जाने गरिरहेको रहेछ । एकैछिनमा धरहरा ढलेको देखी, नयाँबसपार्क, असन लगायतका क्षेत्रमा घरहरु ढलेको खबरहरु आउन थाले । 
कान्तिपुर टिभीले सडकमै डोरी तानेर आफ्नो प्रत्यक्ष प्रशारण सुरु गरिसकेको थियो । ईकान्तिपुर अनलाईनका साथीहरु पनि सडकबाट नै समाचार अपडेट गरिरहेका थिए । हामी भने के गर्ने भन्दै अलमल्एिर बसेका थियौं । पेप्सीकोला स्थित कान्तिपुर छाप्ने छापाखानाबाट काम गर्ने तय भयो । त्यो बेलासम्म मानिसहरु पनि हताहत भएका समाचारहरु आउन थाले । भुकम्प प्रभाबका कारण मोबाईल सेवा उतिसारो भरपर्दो थिएन । प्रधान सम्पादक सुधिर शर्माले मलाई प्रहरीबाट क्षतिको बिबरण लिन अह्राए । रानीपोखरी स्थित महानगरीय प्रहरी आयूक्त कार्यालयमा पुग्दा प्रहरीहरु आफ्नै मातहतका कार्यालय र त्यहा रहेका प्रहरी र थुनुवाहरुको अवश्थाका बारेमा सूचना लिदैं थिए । त्यहाँबाट म नक्साल स्थित प्रहरी हेडवाक्र्टर पुंगे । भुकम्प प्रभाबित जिल्लाबाट जनधन क्षतिको बिबरण आउन सुरु भएको थियो । प्रहरीले खाली चौरमा टेण्ट टाँगेर आफ्नो डेस्क बनाएको थियो । हरेक १५ देखी ३० मिनेटमा म पेप्सीकोलामा रहेका सहकर्मीलाई मृतकको संख्या टिपाउन थालें । मृतकहरुको संख्या भयाभह थियो । हराउने पनि उत्तिकै । भौतिक क्षतिको त कुरै नगरम् । कतिपय प्रहरीहरु आफ्नो गाउँघरको खबर नपाएको भन्दै पिरोल्लीरहेका थिए । पत्रिकाका लागि समाचार त्यहि बसेर लेखें । मृतकको संख्या लेख्ने ठाउँमा खाली छाडिदिएं । ताकि पत्रिका छापिने बेला मध्यरातमा थप आएको संख्या अपडेट गर्न सकियोस् ।
समाचारको धुनमा राती आफू बस्ने ब्यवस्थाका बारेमा सोच्दै सोचिएनछ । भुकम्पका धक्काहरु आउने जाने गरिरहेका थिए । कोही मान्छे घरमा बस्नु सुरक्षित थिएन । सारा शहर खाली चौर र मैदानमा आएको थियो । प्रहरी मुख्यालायको खाली चौर ज्यान जोगाउन आएका सर्वसाधारणको भिडले भरिएको थियो । बिहान खाना खाएर घरबाट निस्किएकी म खाजा देखी बेलूकाको खानासम्म पनि सोचिनछु । राती ९ बज्नै थाल्दा भोकले पेट बटारिन थाल्यो । कान्तिपुरले प्रेसमा कर्मचारीका लागि बेलूकाको खानाको ब्यवस्था गरिदिएको थियो । तर राती खाना नै खानका लागि त्यत्रो बाटो जान मन लागेन । या भनौं, भुकम्पका डरले गईन । प्रहरी मुख्यालय बाहिर निस्किएर एउटा चाउचाउ पानीसंग खाएर फेरी भित्रै छिरे । राती साढे १२ बजे पत्रिकाको लागि समाचार त पठाएँ । अब त्यसपछि चिन्ता सुरु भो सुत्न कहाँ जाने ? चिनजान साथी संगत त धेरै थिए, तर त्यस्तो बेलामा सबैलाई आफ्नो चिन्ता थियो । कसैलाई म तँ बसेको ठाउँमा आउँछु है पनि भन्न सकिने अवश्था थिएन ।
म पाँचथरमा ९ कक्षा पढदै गर्दा देखी चिनजानमा रहेका एसएसपी कमल जिटीले छोरी बस्ने ब्यवस्था गरेउ भन्दै सोधे ।  मैले ‘छैन अंकल भर्खर समाचार पढाएं, अब खोज्छु भने । उनले आन्टी (उनकी श्रीमती), छोरी र अन्य नातेदार बसुन्धराको सार्वजानिक स्थलमा बसेका रहेछन् । म पनि त्यतै लागें । धर्मशाला जस्तो देखिने त्यो ठाउँ खचाखच थियो । पुरै शरिर तन्काएर सुत्ने ठाउँ थिएन । जसोतसो गरेर रात बिताइयो । भोलीपल्ट (भुकम्पको दोस्रो दिन) ग्रैहीधारामा रहेको डेरामा पुंगे । घरबेटी अकंल अलि अलि घर चर्कियो भन्दै थिए । हतार हतार माथिल्लो तलामा रहेको कोठामा गएर एकजोर लुगा, दाँत माझ्ने ब्रस र पेस्ट बोकेर तल झरें । अनि एक जग पानी मागेर मुख धोएर ब्रस र पेष्ट झोलामा हालेर हिडें । भुकम्प प्रभाबित काठमाण्डौंका गल्ली र टुँडिखेलमा बस्नेहरुको अवश्था हेरेर म फेरी प्रहरी मुख्यालय फर्किएं । मृतकको संख्या बढेको बढ्यै थिए । राहत तथा उद्धार टोलीहरु देखिन थालेका थिए ।
दिनभरी यता उता दौडिने, अनलाईनलाई समाचार टिपाउने काम गरिरहें । बिहानको खाना कतिचोटी सायद चाउचाउले टारें । कति चोटी प्रहरी मेषमा खाएँ । त्यस्तो ठुलो बिपद्मा सायद पहिलो पटक परेका कारण होला, खाने कुरा ‘ब्याकअप’ राख्न जानिएन । त्यो भुकम्प मेरो लागि मात्र होइन, मेरो समयकालका सबैका लागि नौलो थियो । कतिपय साथीहरु परिवारलाई बस्ने ठाउँ नभएको भन्दै कहिंकतैबाट त्रिपाल उपलब्ध गराइदिन अनुरोध गर्थे । लगातार आइरहेका धक्काले सबैलाई तर्साएको थियो । कोही ब्यक्ति घरमा थिएनन् । आधा रातसम्म मृतक र क्षतिको बिवरण सहित समाचार लेखेर पठाएपछि चार पाँच रात मैलै महिला प्रहरीको ब्यारेकमा सुतेर बिताएँ । एक रात घरमा सुत्न गएकी थिएँ, राती ३ पटक भुकम्प आएछ, म डरले ५ पटक भागिछु । त्यसो गर्नु सहज मेरा लागि पटक्कै थिएन । तर मैले सहज भन्दा पनि कामलाई प्राथमिकता दिएँ जस्तो लाग्छ । बस्न गाह्रो भएको भनेर कसैलाई गुनासो गरिन ।
भुकम्पका धक्का कम हुन थालेपछि काठमाडौं बाहिर बढि प्रभाबित भएका जिल्लामा समाचार संकलन गर्न जान पर्ने थियो । सबै साथीहरु आ आफ्नो तहबाट बाहिरी जिल्लामा गएर समाचार ल्याउने कोशिस गर्दै थिए । म पनि त्यहि दौडमा थिएँ ।
रसुवाको लाङटाङमा भुकम्पले ल्याएको हिमपहिरोमा परेर ४ सय भन्दा बढि स्वदेशी र विदेशी नागरिक पुरिएका थिए । दुईदिन बिमानस्थलमा ढुकेर बसेपछि जसो तसो गरेर सेनाको हेलिकप्टर चढेर त्यहाँ जाने मौका मिल्यो । बिमानस्थलमा हेलिकप्टर कुरेर भुईमा बस्दा समेत ल्यापटप खोलेर समाचार लेखिन्थ्यो । अहिले संझदाँ लाग्छ, त्यो बेला समाचार लेख्ने ‘जुनुन्’(यो शब्दको अर्थ आएन) थियो । रसुवा सदरमुकाम धुन्चे हुदै त्यहाँबाट लाङटाङ पुगिएको थियो । आठ दश जना सर्वसाधारण त्यहाँ थिए । सबैका आखाँ रसिला थिए । हिम पहिरोले आफन्त र घरबार सबै गुमाएपछि त्यहि हिमको थुप्रोतिर हेरेर बसिरहेका थिए । ७० बर्ष जति देखीने एक बृद्ध ब्यक्ति घर, श्रीमती र छोरा छोरी सबै पहिरोमा परेको भन्दै भक्कानो छाड्दै रुदैं थिए । पहिरो गएको दिन उनी त्यहाँबाट अलिपर रहेको हिउँ मापन गर्ने केन्द्रमा काम गर्न गएका रहेछन् । फर्केर आउँदा पहिरोले सबै सोत्तर बनाएको थियो । खान नपाएको गुनासो गरिरहेका थिए । मान्छे मात्र होइन, पहिरोबाट बचेका याकका पेट समेत केहि खाना नपाएर सुकेका देखिन्थे । यस्ता दृष्यले मन दुखी बनाउँथ्यो । उनीहरुका कुरा सुनेर मन भारी बनाउँनु बाहेक अरु उपाय थिएन । सुरक्षाकर्मीको टोली पहिरोमा पुरिएका लासको उत्खनन्का लागि आउँदैछ भन्ने थाहा पाएपछि पल्लो गाउँ क्यान्जिङबाट धपेडी गर्दै आफन्तहरुको लामो लस्कर आइरहेको थियो । उनीहरु हिउँले पुरीएका आफन्त फेला पारेर राम्रोसंग अन्तिम संस्कार गर्न चाहन्थे । उनीहरुलाई त्यहाँ पुरिएका आफन्तकाबारेमा सोध्नु उनीहरुको घाउ अझै ताजा बनाइदिनु थियो । कोही बोल्दा बोल्दै डाको छाड्थे । कोही दौडिएर पहिरोले बगर बनाएको ठाउँतिर जान्थे । यस्ता धेरै अवश्था आए, जहाँ प्रश्न सोध्न पनि कठिन लाग्थ्यो ।
भुकम्पमा परेर ज्यान गुमाउनेले त गुमाए । हराउनेको संख्या पनि उतिकै थियो । भुकम्प प्रभाबित उपत्यका सहित अन्य जिल्लाबाट २ सय ९० जना हराएको सुचना फेला परेको थियो । हराउनेहरुका आफन्तले प्रहरीलाई निवेदन दिएका थिए । यि तथ्याङक केलाउनका लागि एक सय भन्दा बढि आफन्तलाई फोन गरेर उनीहरुका बारेमा पत्ता लगाउने कोशिस गरेकी थिएँ । मैले कुरा गरेका बेपत्ताका आफन्तले उनीहरु फर्केर आउने कुरामा आश मारेका थिएनन् । परिवार छाडेर विदेश जान हिडेका, होटलमा ज्याला मजदुरी गरेका मान्छे हराएका थिए । भेटे जति सबै आफन्त आउने आशको त्यान्द्रो समातेर बसेका थिए । दिनहुँ प्रहरी कार्यालय जाने र त्यहाँबाट मृतकहरुको भिडमा खोज्न टिचिङ अस्पताल जानेहरुको ताँती नै थियो । टिचिङमा अर्को भयाभह अवश्था थियो । यता उता सबै तिर बेवारिसे लासहरु राखिएका थिए । कसैको हात, कसैको खुट्टा त कसैको आधा शरिर थिएन । आफन्त पहिचान गर्ने आधार भनेकै अन्तिम पटक उनीहरुले लगाएको कपडा, मालमा या केहि सामान थिए । त्यहि लासमा सर्वसाधारणहरु आफन्त खोज्दै थिए ।
राहत सामाग्री बोकेको हेलिकप्टर सिन्धुपाल्चोकको पाङताङ गाउँमा ‘ल्याण्ड’ गर्दा गाउँलेहरु झुम्मिदैं हेलिकप्टरको वरिपरी आए । भुईचालाले कुनै घर सग्लो राखेको थिएन । उनीहरुले बस्नका लागि त्रिपाल टाँगेर, रुखका स्याउलाले बारेर टहरो बनाएका थिए । मकै गोड्दै गरेकी एक महिला भुकम्पमा हराएको छोरो भेटिएको भन्दै दङग थिईन् । उनको छल्किरहेको खुसी र हाँसो क्यामरामा मात्र नभई मनमा पनि कैद गर्न लायक थियो । गाडीमा खलासीको काम गर्ने उनको १४ बर्षे छोरो ९ दिनमा जिवीतै भेटिएको थियो । अर्की ५ बर्षिय छोरी पनि घर भत्किएर पुरिएपछि ९ घण्टामा जिवितै उद्धार भएकी थिईन् ।
काभ्रेको धारे डाँडामा भेटिएका शेरबहादुर तामाङको बाबु आमा र नाति नातिना भुकम्पले लगिदियो । उनी सहित उनकी श्रीमती र बुहारी मात्र बाँचे । चार जनाको जुठो बारेका उनी भत्किएको घरले पुरेका सामानहरु निकाल्ने कोशिस गर्दै थिए । उनकी २१ बर्षे बुहारी टोलाएर बसेकी थिईन् । उनले ६ महिनाको छोरो र ५ बर्षे छोरी त्यहि घरमा गुमाइन् । विदेशमा रहेका उनका श्रीमानले त ६ महिनाको छोरोको अनुहार समेत देख्न पाएनछन् । अरनिको राजमार्ग पाँचखाल तामाघाटबाट झण्डै डेढघण्टा पैदल हिडें, धारे डाँडा पुगिन्छ ।  भुईँचालाले त्यो डाँडालाई अझै उराठ लाग्दो बनाएको थियो । हामी सञ्चारकर्मी समाचार खोज्न भनौं या उनीहरुको अवश्था सञ्चारमाध्यम मार्फत प्रकाशन प्रशारण गर्न त्यहाँ पुग्थ्यौं । तर धेरै सर्वसाधारण हामी नै सहयोगका समाग्री लिएर वा सरकारी प्रतिनिधि बनेर आएको सोच्थे । उनीहरुसँग गफ गर्न र उनीहरुका फोटो खिच्न बाहेक अरु केहि मदत गर्न नसक्दा मनमा कता कता हिनताबोध हुन्थ्यो ।
सिन्धुपाल्चोककै मेलम्ची भन्दा माथिल्लो गाउँ तिम्बु पुग्दा एउटी महिला भुकम्पमा परेर कुच्चिएका भाडाँ सोझ्याउँदै थिईन् । मैले भेटे मध्ये ३१ बर्षिय डोल्मा मात्र यस्ती महिला थिईन्, जसको परिवारमा भुकम्पले मानबिय क्षति गराएन । श्रीमान र छोराछोरीलाई केहि भएन । उनको अनुहारमा घर भत्किदाँको दुख भन्दा बाँचेको खुसी छल्किरहेको थियो ।
उनी किलो ठोक्ने ह्याम्मरले मम बनाउने भाडाँ उनी ठोकिरहदाँ उनका श्रीमान छिमेकीको घर बनाउन मदत गरिरहेका थिए । गाडी छाडेर झण्डै दुई घण्टा खेतका आली र कान्लाहरु छिचोल्दै त्यहाँ पुग्दा गाउँलेहरु एक अर्कालाई आपत पर्दा सरसहयोग गरिरहेका थिए । भुकम्पको कम्पनले धर्ति हल्लाउँदा पहाड झरेर खस्ला भन्ने डरले मानिसहरु सम्म ठाउँ खोजिरहेका थिए । त्यस्तै पहाडमा सुरक्षाकर्मीहरु ज्यान हत्केलामा राखेर भुकम्पबाट प्रभाबित भएका सर्वसाधारणको खोजी गरिरहेका थिए ।
अर्को दिन सिन्धुपाल्चोकको तातोपानी नाका जादाँ लगातार आइरहेका कम्पनले म चढेको गाडीमा ढुंगा बर्षाइरहेको थियो । सीमामा पुग्दा सडक किनारमा राखिएका गाडी सोत्तर थिए । बजार चकमन्न थियो । बैङकका शाखामा सुरक्षागार्ड मात्र थिए, उनी पनि कुनबेला ठुलो कम्पन आउला र पहाड झरेर पुर्ला भन्ने डरमा बाँचिरहेका थिए । दुईतिर ठुला ठुला पहाडका बिचमा रहेको तातोपानी नाका बन्द थियो । ब्यापार हुने कुरै भएन । मानिसहरु राम्रो बासस्थानको खोजीमा हिडिरहेका थिए ।
भुकम्पपछिका १२ दिन कतै खुसीका, कतै दुखका समाचार लेखेर बिते । यता उता भाग्दा थाकेको महसुस भएन । नयाँ समाचार खोजिरहन मन लाग्यो । भुकम्पले बनाएको सर्वसाधारणको घाउमा समाचारका माध्यमबाट मलहम लगाइदिन मन लागिरह्यो ।

Comments

Popular posts from this blog

मेरा हुलाकी बुवा

जहाँ गए नि स्वाद नेपाली

फोनमा कुरा गर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या