मेरा हुलाकी बुवा

बुवा जिवित हुनुहुन्थ्यो भने, सायद म यी कुराहरु लेख्दिन थिएँ । तीन बर्ष अघिसम्म त बुवालाई फोन गरेर हरेक साल झै मुख हेरें है बुवा भनिदिन्थें । बुवाले पनि फिस्स हाँस्दै ‘देखिस् त कस्तो रैछ’ भन्नुहुन्थ्यो । 
प्रतिमा बाँस्कोटा
मेरा बा दैनिक आठ घण्टा हिडेर थाकेको शरिर लिएर घर आइपुगेपछि खुईया गर्दै लौरो सिकुवाको काठमा चेपेर अड्याउनु हुन्थ्यो । ४५ बर्षमा पनि ६० बर्षे भैंm देखिने मेरा बुबाको दैनिकी यस्तै थियो, झोला भरी चिठ्ठी पत्र बोकेर हरेक दिन आठ घण्टाको हिंडाइ । चार घण्टा चिठीपत्र पुर्याउन र ल्याउन चार घण्टा । उमेर नढल्किदै बुढ्यौली लागेजस्तो देखिने शरिर, हरेक दिनको थकान, चाउरी परेका गाला । घर पुग्नासाथ गाईबस्तुको चटारो, परिवार प्रतिको दायित्व, सँधै केही नपुगेको जस्तो र केही खोजी रहेका जस्ता गाढिएका आँखा । बुबाको स्मरण यही र यस्तै परिदृष्यबाट सुरु हुन्छ । 
हामीसँग जुन कुरा साथमा छ, त्यसको महत्व धेरै हुदैन । आज मेरा बुवा जिवित हुनुहुन्थ्यो भने, सायद म यी कुराहरु लेख्दिन थिएँ होला । तीन बर्ष अघिसम्म त बुवालाई फोन गरेर हरेक साल झै मुख हेरें है बुवा भनिदिन्थें । बुवाले पनि फिस्स हाँस्दै ‘देखिस् त कस्तो रैछ’ भन्नुहुन्थ्यो । अब त बुवाले मेरो आवाज सुन्नु हुन्न । तर पनि लाग्छ, बुवाले मलाई हेर्दै हुनुहुन्छ । म सुखी हुदाँ बुवा हाँस्नु हुन्छ होला । म रुदाँ मन अध्यारो पार्नुहुन्छ होला ।
============
मेरा बुवा हुलाकी हुनुहुन्थ्यो । अपरान्ह बुवा घर आएको संकेत पाउनासाथ कटेरामा बाँधेका गाईबस्तु कराउँथें । घरमा खेल्दै बसेका हामीहरु गाईबस्तु कराएपछि हत्तपत्त काम गर्न थाले जस्तो गथ्र्याैं, बुवालाई देखाउन । गाई भैंसीलाई घास हालिदिने देखी पानी दिने गोबर सोर्ने गथ्र्यौं । गाईबस्तुसंगको लगाब भन्दा पनि बुवाको गालीबाट जोगिन हामी त्यसो गथ्र्यौं । गाईबस्तुसँग बुवाको प्रेम र लगाव बडो अचम्मको थियो ।
मैले जानेबुझे देखिनै बुवा बिहानै झिसमिसेमा एउटा बोरा बोकेर लौरो टेक्दै उकालो लाग्नुहुन्थो । आमाले पकाएर दिएको चिया पिएर बुबाको दैनिकी सुरु हुन्थ्यो । यो हरेक दिन बिहान उठेर यसरी नै जानुहुन्थ्यो । अनि ४ बजे तिर फर्केर आउनुहुन्थ्यो । बुवा घर आइपुग्दा थलामा बाँधेका गाईबस्तु भोका देखे हामीले गाली खानु त निश्चित नै थियो । उस्तै परे झापड पनि खाईन्थ्यो ।
हामी बुवासंग धेरै डराउँथ्यौं । धेरै समयसम्म बुवा हाम्रो लागि ‘हाउगुजी’ जस्तै रहनुभयो । स्कुल जान कपि पेन्सिल देखी लुगा किन्न समेत आमाको पछि लाग्थ्यौं । हाम्रो बाल्यकाल संयुक्त परिवारमा बितेर पनि हुनसक्छ । हामी बुवासंग भन्दा हजुरबुवा र हजुरआमासँग बढी नजिक थियौं । हामीले घरमा बसेर बदमासी गरे हजुरआमाले बुवालाई सुनाई दिनुहुन्थ्यो । यस्तो बदमासी गरेको भनेर कतिपटक बुवाको हात हाम्रा गालामा बजारिएका पनि थिए ।
हामी संयूक्त परिवारबाट अलग्एिपछि मलाई स्कुल पढिञ्जेलसम्म सधैं लाग्थ्यो, बुवा हामीलाई माया नै गर्नुहुन्न । जब म गाउँबाट क्याम्पस पढ्न पहिलो पटक काठमाडौं आए बुवाको माया त मलाई त्यो बेला महसुस भयो । राजधानी आएको एक महिनापछि दशै मान्न घर फर्केर गए । मट्टितेल हालेर बालेको कुप्पीको उज्यालोमा बुवाले हेर्दा मेरा आखाँ दुब्लाएको देख्नुभएछ । ‘च्व च्व च्व हेर, हेर मेरा चोर्नीका आखाँ दुब्लाएछन् ।’ बुवाले त्यसरी मलाई हेर्दा र उहाँको अभिव्यक्तिले मेरो मनमा अर्कै तरङग अनुभव भयो । ओहो मेरो बुबाले मलाई यत्ति धेरै मायाँ गर्नु हुँदो रहेछ । मैले त्यही दिन बुबाको माया महशुस गरे ।
=====
एकपटक म दादा (दाइ)हरुसँग घाँस काट्न उनीको पछिपछि लागेकी थिएँ । घर नजिकैको खेत जाने भनेका दाइहरु कता गए कता । म एक्लै खेतमा दादाहरु खोज्दै रुन थालें । धारामा पानी थाप्न जानु भएको बुवाले म रोएर सुनेर खेतमा आउनुभयो । अनि नरो भनेर मैले बोकेको डोका भरी घाँस काटेर मलाई लिएर घर जानु भयो । बुवा हामीलाई माया गर्नुहुन्थ्यो तर देखाउन जान्नुहुन्नथ्यो । जस्तो अहिले मलाई लाग्छ । मेरा बाले मोबाईल जीवनका दुई बर्ष पनि राम्रोसंग बोक्न पाउनु भएन होला । काठमाडौंबाट फोन गर्दा सधैं बोल्न नमाने भैंm लाग्यो । तर पछि थाहा भयो, बुवालाई मसंग बोल्न मन नभएको होईन, बुवा त्यो दुराभाष यन्त्र हाम्रो करले बोक्दै हुनुहुन्थ्यो । बुवालाई त्यो मोबाइल साह्रै सहज लाग्थ्यो । बुवाको मोबाइलामा फोन आउँदा ‘ए देबेन्द्रेकी आमा, फोन उठा’ भन्दै ममीलाई जिम्मा लगाइदिएको देखेपछि त्यो भ्रम पनि तोडियो ।
म काठमाडौं आएर बस्ने क्रममा अत्यन्तै ठुलो समस्यामा परें । आफूले समाधान खोज्न नसकेपछि बुवा ममीलाई बताएँ । उहाँहरुलाई आफ्नो समस्या सुनाउँदा सुनाउँदै मेरा आखाँबाट कुन बेला आशुँ झरे, थाहा छैन । तर बुवाले मलाई पहिलो पटक अगांलो हाल्नुभएको थियो । मसंगै बुवापनि रुनुभयो । ‘तेरा लागि म छु,’ भनेको अहिले पनि झल्झली याद आउँछ ।
======
बुवा १५ दिन आफ्नो हुलाक बोक्नुहुन्थ्यो । बाँकी १५ दिन हजुरवुवाको । मेरा हुजुरबुवा पनि हुलाकी नै । बुवाले भन्नुहुन्थ्यो, १४ बर्षको उमेरदेखी हुजुरबुवाको हुलाक बोक्न थाल्या रे । हजुरबुवाको हुलाक बोकेर जादाँ बाटो बिर्सिएर दुई दिनसम्म हराउनु भयो रे । एक पटक त जंगलमा हराएर २ दिनसम्म केहि नखाई बस्नु परेको थियो रे । बुवाले  आफ्नो जीवन बयान गर्दा गर्दै हाम्रा आखाँ पनि भरिएर आउथें । सिकुवामा राखिएको खाटमा बुवा बसेर आफ्नो जीवन बयान गर्दा हामी बुवाको वरपर झुम्मिएका हुन्थ्यौं ।
अहिले त पाँचथरको याङनाममा गाडी पुग्छ । भाडाको गाडी पनि चल्न थाल्या छ । २० बर्ष अघि बुवा हुलाक बोकेर दैनिक ८ घण्टा हिड्नुहुन्थ्यो । खागीका जुत्ता लाएर पहाडको बाटो हिड्दा बुवाका पैताला चर्चरी फाटेका हुन्थे । तर कहिलै काम साह्रो परेको सुन्न परेन । बुबाले पेशा र हामी प्रति देखाएको स्नेह इमान्दारीता र मेहनत संझदा आज पनि उर्जा मिल्छ ।
सबैले बाको मुख हेरेको देख्दा मेरा पनि बा भइदिए हुन्थ्यो, जस्तो लाग्छ ।

Comments

Popular posts from this blog

जहाँ गए नि स्वाद नेपाली

फोनमा कुरा गर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या