Monday, January 13, 2020

अघोषित सम्बन्ध/आधुनिक कथा

सरी है," हतारमा एक युवतीसँग ठक्कर खाएपछि झसंग हुँदै मैले भनें।
उसले आँखाको कालो ठूलो गगल्स निकाल्दै मलाई हेरी।
कता-कता चिनेको अनुहारझैँ लाग्यो।
"तिमी कहिले आयौ लन्डनबाट?" उसको प्रश्नले बल्ल उसलाई ठम्याएँ।
ऊ पाँच वर्षअघिको क्याम्पसे जीवनकी मेरी सहयात्री सरिना थिई।
चार वर्षअघि हामी छुट्टिएका थियौँ।
त्रिभुवन विश्वविद्यालयमा एउटै कक्षामा पढ्थ्यौँ। पढाइ सकेर म पैसाको लोभमा विदेशिएँ तर ऊ आफ्नै देशमा केही गर्छु भन्ने ढिपी कसेर बसेकी थिई। त्यतिबेला ऊ चुलबुले थिई।
कति दिन त हामीले एउटै थालमा भात खाएका थियौँ। कति दिन सँगै भोकै पनि बस्यौँ।
विश्वविद्यालयको खाली चौरमा रूखको फेदमुनि बसेर कोर्सभित्र र बाहिरका ठूल्ठूला पुस्तक पढ्थ्यौँ। घर, परविार, आफन्त र विद्यार्थी जीवनको काठमाडौँ बसाइका बारेमा कुरा गर्थ्यौं। क्याम्पसे जीवनमा केटाहरूले हातले कोरेर दिएका प्रेमपत्र एकअर्कालाई सुनाएर ठट्टामा उडाइदिन्थ्यौँ।
तर, आज ऊ ठट्टा गर्ने मुडमा थिइनँ। गम्भीर देखिन्थी। हरियोमा सेतो मिसिएको कुर्ता-सुरुवाल लगाएकी सामान्य देखिन्थी ऊ। चर्को घामबाट आँखालाई जोगाउन गगल्स लगाएकी थिई।
पाँच वर्षपछि उसलाई भेटेपछि आफ्नो हतारो बिर्सिएँ मैले। क्याम्पसे जीवनकी मेरी एक मात्र मिल्ने साथी थिई ऊ। भेट्दा झ्वाम्म अँगालो हाल्ने उसको स्वभाव थिएन। हामी उसैले प्रस्ताव गरेको दरबारमार्गको त्यही क्याफेमा पुग्यौँ। अस्ताउँदो सूर्यले विश्राम लिन हतार गररिहेको थियो। हामी रूखको छायाँ परेको फलामे कुर्सीमा बस्यौँ। दुवैबीच निकैबेर एक किसिमको मौनता छायो।
"के गर्दै छेस्, कहाँ छेस्?" मौनता चिर्दै मैले सोधेँ।
लामो सास फेर्दै ऊ बोली, "बाँचेकी छु, पुराना याद ताजा गराउन साँझपख यहाँ आएकी।" वेटर आयो मैले कफी अर्डर गरेँ। त्यसमा उसले चुरोट र वाइन थपी।
"तँ वाइन र सिग्रेट पनि पिउन थालिस्?" मैले सोधेँ। अस्ति जस्तो लाग्छ क्याम्पसको क्यान्टिनमा कोही बसेर चुरोट खायो भने हातले धूवाँ हम्किँदै ऊ गाली गरेर खेदाउँथी।
एक दिन मेजर इङ्लिस पढाउने प्राध्यापकले मादक पदार्थ सेवन गरेर कक्षामा आएछन्।
अगाडिको सिटमा बसेकी उसले प्राध्यापकको यस्तो करामत थाहा पाएर झगडा गरेकी थिई। प्राध्यापकसँग झगडा गरेको आरोपमा क्याम्पस प्रमुखको कार्यकक्षमा हामी दुई स्पष्टीकरण दिन पुगेका थियौँ।
तर, आज ऊ आफैँ त्यसको अर्डर गररिहेकी छ।
उसका आँखा नदेखे पनि उसले लगाएको कालो गगल्सभित्र म आफ्नो सानो अनुहार देखिरहेकी छु। अनि, आफैँलाई सोधिरहेकी छु, "यसलाई के भयो?"
एकैछिनमा उसले मोबाइलको एउटा तस्बिर देखाई। मोबाइल हातमा लिएर हेरेँ। रातो वर्णको, उमेरले पाको र अग्लो कदको मान्छे छ त्यहाँ।
"को हो यो?" मैले सोधेँ। चुरोटको धूवाँ आकाशतिर उडाउँदै उसले भनी, "त्यही हो, जसले मलाई जिन्दगी चिनायो, जिउन सिकायो। नदी तर्न किनारमा भौतारँिदै थिएँ,नदी तर्न साथ दिन्छु भन्दै हात समातेर बीचधारमा लगेर छाड्यो।"
ऊ सम्बोधनमा तिमीबाट 'तँ'मा झरसिकेकी थिई।
"तँ विदेश जानुअघिदेखि नै यो मान्छेलाई म सामान्य चिन्थेँ। एक दिन हिँडिरहेका बेला उसको र मेरो यही ठाउँमा जम्काभेट भयो। हामीले यही कुर्सीमा बसेर कफी खाएका थियौँ। मेराबारेमा सोध्यो, बताइदिएँ। सबै बेलीविस्तार लगाएँ। त्यो दिन उसले मसँग यति नजिक भएर कुरा गर्यो कि मैले आफूले आफैँलाई उसको नजिक ठेलेर पुर्याएँ," ऊ भन्दै थिई।
"यत्रो सहरमा आफूले आफैँलाई एक्लो नठान्नू, तिम्रो आफ्नो मान्छे पनि कोही छ, केही समस्या परे, एक्लो महसुस गरे मलाई सम्झनू, एउटा असल साथीको भूमिकामा म सधैँ रहिरहन्छु। तिमी ठूलो मान्छे बनेको हेर्न चाहन्छु," यस्तै यस्तै लामो कुरा गर्यो।
चुरोटको अर्को लामो सर्को तानेर धूवाँ अस्ताउन लागेको सूर्यतिर फाल्दै संकेत गरेर बोली, "सानैदेखि हेलाँको जिन्दगी बाँच्दै आएकी मेरो जीवन सधैँ यस्तै छ।"
म उसका कुरामा चाख दिन थालेँ। त्यो मान्छेसँगको उसको सम्बन्ध के हो? किन ऊ यसरी टुटी? के यो अब यस्तै रहिरहन्छे? मेरा लागि चाखलाग्दा विषय बने।
"अनि?" मैले एउटा प्रश्न तेस्र्याएँ।
"तँलाई त थाहा छ म टुहुरी केटी। आमा सानैमा बितेपछि बाबुले अर्की आमा ल्याए। सानीआमाको रातदिनको टोकसो सहँदै एसएलसी सकेर म सहर आएकी हुँ। यहाँ पनि अर्काको घरमा बसेर उनीहरूकोे जुठो खाएर जुठा भाँडा माझेर पढाइ गरेँ।"
"बच्चैमा आमा गुमाएकी मलाई केही थाहा थिएन। माया के हो? कस्तो हुन्छ? तर, उसँगको सामीप्यले मलाई यी सबै कुरा सिकायो। मेराबारेमा धेरै नै चिन्ता लिन्थ्यो उसले। मेरो मनमा यति गहिरो गरी स्थान दिएको उसलाई अहिले चाहेर पनि निकाल्न सकेकी छैन।"
यति भन्दा उसले दुईवटा चुरोट फुकिसकेकी थिई भने वाइन नि दुई ग्लास। फेरि अर्को सल्काई। उसका कुरा सुन्दा मलाई लागिरहेको थियो, म कुनै कथा सुनिरहेकी छु। जुन मलाई नौलो लागिरहेको छ।
उसले कुरा अघि बढाई, "त्यहीबीचमा म उसको सरकारी कार्यालयनजिकको एक कम्पनीमा काम गर्न थालेँ, ३ हजार ५ सय रुपियाँ तलबमा। उसले फुर्सद पाउनेबित्तिकै फोन गथ्र्यो, "तिमी कता? मेरो काम सकियो।" मलाई लिन आउँथ्यो। हामी टाढाटाढा गएर निकै लामो समय बिताउँथ्यौँ। उसको छातीमा टाउको अडेस लगाएर म स्वर्गीय आनन्दमा डुब्थेँ। उसले मेरो कपाल मुसार्दै पीर नगरी काम गर्ने हौसला दिन्थ्यो। म पनि अफिसको काम छिटोछिटो सकेर उसलाई भेट्न हतारिन्थेँ।
ऊसँगका दुई वर्ष यति छिटो बिते कि मैले पत्तै पाइनँ। मैले मेरा समस्या भनिनँ भनेर ऊ रिसाउँथ्यो पनि। म टुहुरीले यति धेरै माया पाएकी, जो सम्हाल्न कठिन भयो।
तर, पछिल्लो समयमा उसको व्यवहारमा निकै परविर्तन आयो। भेटघाट त परै जाओस्, फोन आउने क्रमसमेत घट्यो। मैले गर्दा नि झर्किन थाल्यो। चोर-पुलिसको झैं कथा चलिरह्यो। साँच्चै ऊ निकै बदलियो। म उसलाई जति माया गर्थें, त्यसभन्दा बढी सम्मान पनि।
"म उसँग डराउँथे नि ! मलाई थाहा थियो। ऊ स्वास्नी, छोरा-छोरी भएको झन्डै मेरो बाबुसँग उमेर मिल्ने मान्छे हो। तैपनि, म उसको व्यवहारबाट आकर्षित थिएँ।"
"बिहान ओछ्यान नछाड्दै फोन आउँथ्यो, "उठ्यौ? उठ उठ, धेरैबेर सुत्न हुन्न। अर्काको घर जाने छोरीले छिटो उठ्ने बानी गर्नुपर्छ।" अनि, म प्याउली भएर भन्थेँ, "टाढा भएर उठाउँदा त हजुर यसो भन्नुहुन्छ, नजिक भए त कान तान्नुहुन्थ्यो होला?" "मसँग नजिस्क बाबा, छिटो उठ !" ऊ फोन राख्थ्यो।
"ऊ मेरो साथी मात्र होइन, एउटा असल अभिभावक पनि थियो। अफिसको काममा केही अप्ठ्यारो परे उसैलाई सोध्थेँ। मैले ऊसँगको सम्बन्धको गलत फाइदा कहिल्यै उठाइनँ, न त उसले नै उठायो। विश्वास गर्थ्यौं हामी एकअर्काप्रति। तर, जब उसको फोन आउन छाड्यो। भेट्न आएन। मलाई एक्लै छाड्यो। म सहरमा नितान्त एक्ली भएँ। मन बहलाउने कोसिस नि नगरेकी होइन, काम छाडेर दुई चार दिन बरालिएँ। अँह ! तर, सकिनँ। जागिर पनि छाडिदिएँ।" ऊ भनिरहेकी थिई। म मूर्तिवत् सुनिरहेकी थिएँ।
मैले मलाई देखाई दे म कुरा गर्छु पनि भनेँ, अहँ तर सरिनाले मानिन। भन्थी, "मेरो कारणले उसको जिन्दगी बिगार्नु हुँदैन। म ऊ खुसी भएको हेर्न चाहन्छु।"
चुरोटको ठुटो टे्रमा राख्दै भनी, "सबै थोक गुमाएँ केही छैन अब मसँग।" अनि, लामो सास तानी।
रातको ८ बज्न लागेको छ। वेटरले बिल ल्यायो।
फोन नम्बर मागेँ। मोबाइल बोक्दिन भनेर उसले ढाँटी मलाई। तर, त्यो फोटो उसले एकछिन अघि मात्र मोबाइलमै देखाएकी थिई। ऊ दिन चाहन्न भनेँ मैले नि जबरजस्ती गरिनँ।
"धेरै बाँच्नु छ, जिन्दगी सुधार," भनेँ। "कसका लागि सुधारौँ? किन सुधारौँ?" ऊ बोली, "बच्चैदेखि हेलाँ, तिरस्कृत र घृणापूर्ण जिन्दगीको भारी बोकेर बाँच्दै आएकी हुँ, मलाई अब सुध्रिनु छैन।"
म निरुत्तर भएँ।
तीन घन्टा उसँग यसरी बिताउँदा मैले केही ठम्याउन सकिनँ। के भयो यसलाई? के यो अब यसरी नै बाँच्छे त? किन त्यसले उसलाई यो हालतमा छाड्यो? के सरिनाको गल्ती नै थियो त? प्रश्नैप्रश्नले मेरो मस्तिष्क भरियो।
उत्तर खोजिरहेँ तर पाइनँ। म रातभरि उसैका बारेमा सोच्दै निदाएँछु। सपनामा पनि उसैलाई देखेँ। ऊ उसैको प्रेमीसँग विवाह गाँठोमा बाँधिएर लजाउँदै विवाह मण्डपमा विस्तारै घुमिरहेकी थिई। सपनामै भए पनि म रमाएँछु र उसलाई अँगालो हाल्न पुगेँछु। अँगालो हाल्दा सिरकलाई मेरा पाखुराहरूले स्पर्श गरेछन्। यसले म अचानक ब्युझिंएँ। बिहान भइसकेको रहेछ। कतिबेलादेखि मेरो फोनको घन्टी बजिरहेको थियो। मैले फोन उठाएर हेलो भनेँ। उताबाट कुनै पुरुषले मेरो नाम सोध्यो, मैले उसले सोधेको नामको महिला म नै हुँ भनेँ। फोनमै त्यो पुरुष स्वरले भन्यो, "म टिचिङ् हस्पिटल, महाराजगन्जबाट बोल्दैछु, तपाईं सरिना भन्ने महिलालाई चिन्नुहुन्छ?" मैले आश्चर्य मान्दै स्वीकारोक्तिमा जवाफ दिएँ।
त्यो पुरुषले भन्यो, "हामीले सरिनाको ब्यागमा तपाईंको भिजिटिङ् कार्ड पायौँ र फोन गरेको। तपाईं कृपया उहाँको लास बुझ्न तुरुन्तै आउनू होला।" अनि, म छाँगोबाट खसेजस्तो भएँ। के, किन, कसरी? भन्ने अनेकौँ प्रश्नहरूको घेराबन्दीमा म बाहिर निस्केँ र एउटा ट्याक्सीमा बसेर अस्पतालतिर लागेँ। मलाई यसबेला दुईवटा प्रश्नले बारम्बार घोचिरहेको छ? रातारात यो के गरी सरिनाले? त्यो पनि मलाई भेटेपछि । र, अबको उसको लास म एक्लैले कहाँ लगेर दाहसंस्कार गर्नू? म यतिबेला साँच्चै संवेदनाहीन भइरहेकी छु। साथी गुमाउनुभन्दा उसको दाहसंस्कारको पीरले मलाई पिरोलिरहेको छ। म रुन चाहेर पनि रुन सकिरहेकी छैन। सायद मेरो जीवनको अग्निपरीक्षा पनि यही हो । समस्यामा सायद मानिसको संवेदना पनि हराउँदो रहेछ ।
नेपाल साप्ताहिक अंक ४१३ 
नेपाल साप्ताहिकमा २०१० मा छापिएको मेरो कथा 

Sunday, December 23, 2018

जहाँ गए नि स्वाद नेपाली

प्रतिमा बाँस्काेटा
नयाँपत्रिका
क्यालिफोर्निया(अमेरिका)
पोखराबाट पढ्न अमेरिका आएका विकास क्षेत्रीलाई उनकी आमाले हिड्ने बेलामा झोलाभरी खाने कुरा हालिदिएकी थिईन् । अमेरिकामा नेपाली स्वादका खाने कुरा छोराले खान नपाउला भन्दै उनले तितौरा, अकबरे खुर्सानी, गुन्द्रुक हालिदिएकी थिईन् । तर विकासलाई यहाँ आएको दुई चार दिनमै नेपालबाट नेपाली स्वाद बोकेर ल्याउन नपर्ने थाहा भयो । नेपालीहरुले ब्यापार गर्दै आएको स्टोरमा नेपाली भान्सामा पाक्ने प्राय सबै चिज पाईन्छ । सन्नीभेलमा रहेको गालामार्ट स्टोरले लामो समय देखी नेपालबाट नै सामानहरु मगाएर बेच्ने गरेको छ । ‘नेपालीहरुको बाक्लो उपस्थिती रहेको स्थानमा नेपाली सामान भेटिनु राम्रो हो’ क्षेत्रीले भने ‘सबै कुरा यतै यसरी भेटिन्छ भन्ने थाहा थिएन ।’ स्टोरमा गुन्द्रुक, सिन्की, टिम्बुर, देखी जिम्बुसम्म पाईन्छ । त्यो बाहेक, फापर कोदोको पिठो, तामा, खुर्सानीको अचार, तितौरासम्मका सामान पाइन्छ । वाइवाई चाउचाउ पनि पाइन्छ । यो क्षेत्रमा नेपालीहरुले नेपाली परिकारहरु बनाएर बेच्ने समेत गरेका छन् । कुनै कुनै प्रकारका अचार छिट्टै सकिने सकिने गरेको ब्यापारी बताउँछन् ।
सधैंभरी ब्यस्त रहिरहने सान्फ्रान्सिस्को शहरमा गोर्खा किचन नामको रेष्टुरेन्ट ४ बर्ष देखी सञ्चालनमा छ । लक्ष्मण अधिकारीले चलाएको रेष्टुरेन्टमा बिशुद्ध नेपाली खाना पाइन्छ । अधिकारीका अनुसरा उनको रेष्टुरेन्टमा ग्राहक नेपाली भन्दा बढि विदेशी हुने गरेका छन् । ‘अन्य क्षेत्रबाट सान्फ्रान्सिस्को घुम्न आएका नेपालीहरु रेष्टुरेन्टको नामकै कारणले यहाँ आउने गर्छन्’ उनले भने ‘गुगल गर्दा गोर्खाज् देखेपछि गर्व गर्दै नेपालीहरु यतै आउँछन् ।’ उनले रेष्टुरेन्टको सजावट समेत नेपाली तरिकामा नै गरेका छन् । ढाकाका कपडाले भित्ता ढाकेका छन् । तामाका खड्कुडा र अमखोरा सवाटका लागि राखेका छन । पृष्ठभुमीमा नेपाली धुन बजिरहेको हुन्छ । पलेंटी मारेर बसेर खान मिल्ने ब्यवस्था गरेका छन् ।
त्यहि शहरमा नेपाली पुर्ण शेर्पाले उर्वान करी नाम गरेको दुई वटा रेष्टुरेन्ट खोलेका छन् । उनको रेष्टुरेन्टमा पनि नेपाली खाना सेट देखी सेकुवा लगायतका खाने कुरा पाइन्छ ।  सानहोजे र सान्फ्रान्सिस्कोमा खोलेका उनी अरु नेपालीलाई समेत ब्यापार नै सुरु गर्न सुझाव दिन्छन् । ‘अलि अलि पैसा भएपछि जोखिम मोलेर ब्यापार गर्दा नै फाइदा हुन्छ‘ शेर्पाले भने ।
क्यालिफोर्नियाका सडकहरुमा नेपाली खानाको ब्यापार बढ्न थालेको छ । ‘सिलिकन भ्याली’ नामले बढि चिनिने यो क्षेत्रमा नेपालीहरुले भारतीय र नेपालीको खानाको फ्यूजन बनाएर रेष्टुरेन्ट चलाउने देखी ‘फूड ट्रक’मा नेपाली खाना पस्केर ग्राहकहरु तानिरहेका छन् । पछिल्लो एक बर्षमा नेपाली खानाको ब्यापारले बजार लिएको जानकारहरु बताउँछन् । फूड ट्रकमा नेपाली खानाको ब्यापार बढिरहेको छ । खासगरी मोमो, चाउमिन, चिकेन चिल्ली लगायतका खानाहरु सडकमा फूड ट्रकमा राखेर बेचिरहेका हुन् । अरोमा हाउस नाम दिएर एक नेपालीले रेष्टुरेन्ट खोलेका छन् । त्यहाँ सेकुवा देखी सम्पुर्ण प्रकारका नेपाली खानाहरु पाइन्छ । सञ्चालक अनिल पन्तका अनुसार रेष्टुरेन्टका ग्राहक धेरैजसो नेपाली नै छन् । उनको रेष्टुरेन्टमा सेकुवा, मोमो, नेवारी खाजा सेट पाउने गरेको छ । मम हरेक नेपाली रेष्टुरेन्टमा पाइन्छ ।
करिब ३ बर्ष अघि देखी सन्नीभेलमा नेपालीले दि एभ्रेष्ट मोमो नाम दिएर नेपाली फूड ट्रक सुरु गरेका थिए । नेपालीलाई लक्षित गरेर मोमो ट्रक सञ्चालन गरेको भएपनि भारतीय ग्राहकको संख्या धेरै हुने गरेको ब्यापारी बताउँछन् । त्यसको ६ महिनापछि अर्का नेपालीले दि मोमो ग्रिल फूड ट्रक नाम दिएर अर्को मोमो ट्रक खोले । बिभिन्न कम्पनीको लञ्चमा मोमो लगायतका अन्य खाना उपलब्ध गराउँदै आएको यो ट्रकले पनि खास गरी मोमो चाउमिन र फ्राइड राइस लगायतका नेपाली खाना बेच्दै आएको छ । थोरै लगानीमा समेत सुरु गर्न सकिने भएकाले फूड ट्रकतिरको ब्यापार तिर लागेका छन् ।  रेष्टुरेन्ट र फूड ट्रकका ग्राहक नेपाली थोरै र भारतिय धेरै हुने गरेका छन् । ‘नेपालीहरुले खान रुची खाने मम नै हो’ सान्टा क्लाराकी संगिता सिवाकोटीले भनिन् ‘मम मसला पाएपछि घरमा बनाएर खान नै स्वाद आउँछ ।’ हुन पनि सप्ताको अन्त्यमा नेपालीहरु नेपाली परिकार बनाउँदै परिवारसंग समय बिताउने गर्छन् ।
चाईनिज स्टोरमा नेपालीहरुले खान रुची राख्ने गरेको ‘लोकल कुखुरा’ पाइन्छ । पहेंलो र खैरो कुखुरा भनिने यसको स्वाद नेपालको लोकल कुखुराको जस्तै हुन्छ । भारतिय र चिनियाँहरुको बढि बस्ती रहेको ‘सिलिकन भ्याली’ क्षेत्रमा भारतियहरुले सञ्चालन गरेका एक दर्जन भन्दा बढि स्टोरहरु छन् । जहाँ फ्रेस तरकारीहरु पाइन्छ । करेला, पर्वल, सिमी, काउली ब्रोकाउली लगायतका सामाग्रीहरु पाइन्छ । नेपालीहरुको तरकारी खरिद गर्न जाने स्थान भारतिय स्टोर नै हो । उनीहरुले नेपालीहरुको स्वादलाई समेत ध्यानमा राखेर सामान बेच्ने गर्छन् । नेपाली उत्पादन वाईवाई चाउचाउ अधिकांस भारतिय लगानीका स्टोरमा बेच्न राखेको पाइन्छ ।

Wednesday, December 12, 2018

फोनमा कुरा गर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

प्रतिमा बाँस्काेटा
क्यालिफाेर्निया | मङि्सर १७, २०७५

कलिलो उमेरका विद्यार्थीलाई विदेशमा असाधारण तनाव
साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ वर्षीय गणेश तिवारीले बिहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् ।
आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्ने अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए । परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् । तैपनि अर्का एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिइन् । ‘ठट्टा सोच्दासोच्दै सत्य भयो,’ उनका साथीले भने ।
तिवारी हाइल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग बस्दै आएका थिए । ती साथीहरूका अनुसार अरू वेला पनि उनी आत्महत्या गर्ने कुरा गरिरहन्थे । ‘अमेरिका आएपछि पहिला पनि कोसिस गरेँ, तर सकिनँ भन्थ्यो,’ उनका एक साथीले भने, ‘जे कुरा गर्दा पनि एकदम उत्साहित हुन्थ्यो, जसले जे गरम् भने पनि ल गरम्–गरम् भन्थ्यो ।’


बिहीबार दिउँसो ३ बजेदेखि काममा जानुपर्ने तिवारी ढिलो समयसम्म नउठ्दा उनका ‘रुममेट’ र अर्का एक विद्यार्थीले ढोका फुटाएका थिए । राति अबेरसम्म ग्यास स्टेसनमा काममा गएर आएपछि अर्को दिन उनी अबेरसम्म सुत्ने गरेका थिए ।

‘दुई–चारपटक ढोका ढक्ढक्याउ“दा पनि खोलेन, सुतेकै होला भनेर उठाइनँ,’ उनका साथीले भने, ‘काममा जाने वेला हुँदा पनि नउठेपछि फोन गर्दा उठाएन, ढोका फुटाएर भित्र पस्दा झुन्डिराखेको थियो ।’ उनीहरूले नै प्रहरीलाई खबर गरे ।
२०१६ अगस्टमा विद्यार्थी भिसामा अमेरिका आएका तिवारी मिनिसोटा युनिभर्सिटीमा कम्प्युटर साइन्स पढ्न भर्ना भएका थिए । तर, ग्र्याजुएट नभई झन्डै डेढ वर्षअघि उनी क्यालिफोर्निया आएका थिए । उनले आत्महत्या गर्नुको
कारण खुल्न सकेको छैन । साथीहरूसँग उनले पटक–पटक भाइलाई पढ्न अस्ट्रेलिया पठाउनुपर्ने कुरा गर्थे । तिवारीका बुबा माओवादी द्वन्द्वकालमा बेपत्ता भएका थिए । उनकी आमा, एक भाइ र दुई दिदी छन् । दिदीहरूको बिहे भइसकेको छ ।
बे एरियामा रहेका नेपालीको संस्था सन्नी सगरमाथा समाजले तिवारीको परिवारलाई सम्पर्क गर्ने र मद्दत गर्ने कोसिस गरिरहेको छ । गो फन्डनामक अनलाइन चन्दा संकलन गर्ने साइटबाट नेपालीलाई अनुरोध गरेर उनको अन्तिम संस्कारको प्रबन्ध मिलाउने प्रयास गरिरहेको छ । उनको शव नेपाल नै लैजाने कि यहीँ अन्तिम संस्कार गर्ने टुंगो लागेको छैन ।
‘उहाँको परिवारका सदस्यहरू कुरा गर्न सक्ने अवस्थामा हुनुहुन्न,’ समाजसेवी हरिहर दाहालले भने, ‘एक–दुई दिनमा तय हुन्छ होला ।’ उनको मृत शरीर नेपाल लैजान २५ हजार डलरभन्दा धेरै खर्च हुने बताइएको छ ।
पछिल्लो तीन वर्षबिचमा क्यालिफोर्नियामा चारजना विद्यार्थीले आत्महत्या गरिसकेका छन् । गत सेप्टेम्बरमा सानफ्रासिस्कोको गोल्डेनगेट पुलबाट हामफालेर अर्का एक नेपालीले आत्महत्या गरेका थिए ।
किन गर्छ्न आत्महत्या ?
बे एरियामा सक्रिय समाजसेवी हरिहर दाहालका अनुसार अपरिपक्व उमेरमा धेरै तनाव लिनुपरेका कारण नेपाली युवाहरू आत्महत्या गर्ने अवस्थामा पुगेका छन् । मध्यमवर्गीय वा निम्न–मध्यम वर्गीय परिवारले ऋण खोजेर अमेरिका पढ्न पठाएका विद्यार्थी यहा“ आएपछि सोचेअनुसार नभएपछि कुलतमा फस्दै आत्महत्या गर्ने अवस्थासम्म पुग्ने गर्छन्  ।
‘नेपालबाट नै ऋणको भारी बोकेर आउँछन्, यहाँ आएपछि कोठाभाडा, क्याम्पस शुल्क आदिले उनीहरूलाई घेर्छ,’ दाहालले भने, ‘नेपालमा बा“चेकोभन्दा दुःखदायी जीवन र दैनिकी भएपछि आत्महत्याको बाटो रोज्छन् ।’
विदेश पढ्न आउने वेलामा धेरै सोचेर मात्र आउनुपर्ने उनको सुझाब छ । ‘विदेश गएर पढ्दा मात्रै राम्रो शिक्षा पाइन्छ भन्ने हुन्न,’ उनले थपे, ‘देखाइने राम्राभन्दा नदेखाइने दुःखका पाटाहरू धेरै हुन्छन् ।’ यसरी ऋण गरेर आएका सबै विद्यार्थी बिग्रिएका नै छन् भन्नेचाहि“ होइन । कतिपयले दुःख गरेर पनि सम्हालिएका छन् ।’
विद्यार्थी भिसामा आउनेका समस्या
छात्रवृत्ति पाएर पढ्न आउने विद्यार्थीलाई केही सहज भए पनि आफैँ पैसा तिरेर पढ्न आउने विद्यार्थीका लागि भने अमेरिका ‘निल्नु न ओकल्नु’ झैँ हुने विद्यार्थीहरू बताउँछन् । ‘उताबाट के–के न हुन्छ भनेर आयो, यहाँ आएपछि वास्तविकता थाहा हुन्छ, पैसा धेरै खर्च भइसकेको हुन्छ, फर्केर जान सकिँदैन,’ पढ्दै काम गर्दै गरेका एक विद्यार्थी भन्छन्, ‘हामीलाई यहाँ आएर पढ्न जति महत्वकांक्षा हुन्छ, बाबुआमालाई छोराछोरी विदेशमा गएर राम्रो पढ्लान् भन्ने सपना धेरै हुन्छ, अनि ऋण खोजेर पठाइदिन्छन् ।’ अमेरिका आउँदाको ऋण, क्याम्पस शुल्क र कोठाभाडाका कारण नेपाली विद्यार्थीले मानसिक दबाब झेल्नुपरेको छ ।
विद्यार्थी भिसामा पढ्न आएपछि त्यसैको मापदण्डमा रहनुपर्छ । क्याम्पसको शुल्क तिर्नु विद्यार्थीका लागि मुख्य समस्या हो । नेपालबाट पैसा पठाएर पढ्न सक्ने अवस्था हुँदैन । ‘रुपैयाँमा कमाएर डलरमा खर्च गर्न सकिँदैन,’ एक विद्यार्थीले भने ।
विद्यार्थी भिसामा आएका कतिपय विद्यार्थीले भने हप्ताको दुई–तीनपटक राति क्याम्पस जाने र दिउ“सो बाहिर काम गर्ने गर्छन् । सामान्य क्याम्पसमा पढ्दा पनि विद्यार्थीले एक सेमेस्टर (४ महिना)को कम्तीमा ६ लाख नेपाली रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।
क्याम्पस शुल्कपछि अर्को पाटो विद्यार्थीको बसाइको हो । चर्काे भाडाका तिर्न गाह्रो हुन्छ । बे एरियामा नेपालीहरू अपार्टमेन्ट सेयर गरेर बस्ने गर्छन् । अपार्टमेन्ट जसको नाममा छ, उसले मनलाग्दी पैसा उठाउनाले समेत विद्यार्थीहरू चर्को मारमा पर्ने गरेका छन् । ‘बैठक कोठामा बसेकै ६ सय डलर लिन्छन्,’ एक नेपालीको बैठक कक्षमा बस्दै आएका विद्यार्थीले भने, ‘बैठकमा पढ्न त के सुत्नसमेत आफूले भनेअनुसार पाइँदैन ।’
क्याम्पस जान छाडे र शुल्क नबुझाए विद्यार्थीको अमेरिका बस्ने कानुनी मान्यता सकिन्छ । विद्यार्थीले कलेजभित्र हप्ताको २० घन्टा काम गर्न पाउँछ । त्यसमा कमाइ हुँदैन । क्याम्पसबाहिर जुन विषयमा पढ्दै गरेको हो, त्यो विषयको तालिमका रूपमा भने हप्ताको २० घन्टा बाहिर गएर काम गर्न पाउँछ ।
तर, त्यसका लागि क्याम्पसबाट करिकुलम प्राक्टिकल टे«निङ (सिपिटी) नामको कागज बनाउनुपर्ने हुन्छ । ‘पढ्दै गरेको विषयमा बाहिर काम पाउन मुस्किल हुन्छ,’ मिसिसिपीमा पढ्दै गरेका एक विद्यार्थीले भने, ‘त्यही भएर धेरैले गैरकानुनी रूपमा नै काम गर्छन् ।’

Tuesday, September 18, 2018

भुकम्पका समाचार

 स्कुटर चलाएर तीनकुने स्थित कान्तिपूर कार्यालय जादैं थिएँ । थापागाउँको उकालोमा मान्छेहरुको भागम् भाग के लागि भनेर ठम्याउन नपाउदैं स्कुटरसंगै म पनि सडकमा लडें । गति कम भएका कारण चोट लागेन । हतार हतार स्कुटरको साँचो थुतेर अरु मान्छे भागे तिर म पनि भागें । कम्पन कम भएको महसुस गरेपछि स्कुटर उठाएर म तीनकुने तिर लाग्दै थिएँ । सडकभरी मान्छे देखेर मनमा अलि अलि रिस उठ्यो । ‘भुकम्प बन्द भैसक्यो, किन सडकमा मान्छे उभिएका होलान्’ भन्दै मनै मन रिसाउँदै कान्तिपुर पुगें । स्कुटर सिधै भित्र लैजान लाग्दा ‘चिफ रिर्पोटर’ बलराम बानियाँले देखेर कराउँदै भित्र जानबाट रोके । हामी काम गर्ने गरेको कान्तिपुरको मुख्य भवन त चर्किसकेछ । अनि पो थाहा भो, कम्पन आउने जाने गरिरहेको रहेछ । एकैछिनमा धरहरा ढलेको देखी, नयाँबसपार्क, असन लगायतका क्षेत्रमा घरहरु ढलेको खबरहरु आउन थाले । 

कान्तिपुर टिभीले सडकमै डोरी तानेर आफ्नो प्रत्यक्ष प्रशारण सुरु गरिसकेको थियो । ईकान्तिपुर अनलाईनका साथीहरु पनि सडकबाट नै समाचार अपडेट गरिरहेका थिए । हामी भने के गर्ने भन्दै अलमल्एिर बसेका थियौं । पेप्सीकोला स्थित कान्तिपुर छाप्ने छापाखानाबाट काम गर्ने तय भयो । त्यो बेलासम्म मानिसहरु पनि हताहत भएका समाचारहरु आउन थाले । भुकम्प प्रभाबका कारण मोबाईल सेवा उतिसारो भरपर्दो थिएन । प्रधान सम्पादक सुधिर शर्माले मलाई प्रहरीबाट क्षतिको बिबरण लिन अह्राए । रानीपोखरी स्थित महानगरीय प्रहरी आयूक्त कार्यालयमा पुग्दा प्रहरीहरु आफ्नै मातहतका कार्यालय र त्यहा रहेका प्रहरी र थुनुवाहरुको अवश्थाका बारेमा सूचना लिदैं थिए । त्यहाँबाट म नक्साल स्थित प्रहरी हेडवाक्र्टर पुंगे । भुकम्प प्रभाबित जिल्लाबाट जनधन क्षतिको बिबरण आउन सुरु भएको थियो । प्रहरीले खाली चौरमा टेण्ट टाँगेर आफ्नो डेस्क बनाएको थियो । हरेक १५ देखी ३० मिनेटमा म पेप्सीकोलामा रहेका सहकर्मीलाई मृतकको संख्या टिपाउन थालें । मृतकहरुको संख्या भयाभह थियो । हराउने पनि उत्तिकै । भौतिक क्षतिको त कुरै नगरम् । कतिपय प्रहरीहरु आफ्नो गाउँघरको खबर नपाएको भन्दै पिरोल्लीरहेका थिए । पत्रिकाका लागि समाचार त्यहि बसेर लेखें । मृतकको संख्या लेख्ने ठाउँमा खाली छाडिदिएं । ताकि पत्रिका छापिने बेला मध्यरातमा थप आएको संख्या अपडेट गर्न सकियोस् ।
समाचारको धुनमा राती आफू बस्ने ब्यवस्थाका बारेमा सोच्दै सोचिएनछ । भुकम्पका धक्काहरु आउने जाने गरिरहेका थिए । कोही मान्छे घरमा बस्नु सुरक्षित थिएन । सारा शहर खाली चौर र मैदानमा आएको थियो । प्रहरी मुख्यालायको खाली चौर ज्यान जोगाउन आएका सर्वसाधारणको भिडले भरिएको थियो । बिहान खाना खाएर घरबाट निस्किएकी म खाजा देखी बेलूकाको खानासम्म पनि सोचिनछु । राती ९ बज्नै थाल्दा भोकले पेट बटारिन थाल्यो । कान्तिपुरले प्रेसमा कर्मचारीका लागि बेलूकाको खानाको ब्यवस्था गरिदिएको थियो । तर राती खाना नै खानका लागि त्यत्रो बाटो जान मन लागेन । या भनौं, भुकम्पका डरले गईन । प्रहरी मुख्यालय बाहिर निस्किएर एउटा चाउचाउ पानीसंग खाएर फेरी भित्रै छिरे । राती साढे १२ बजे पत्रिकाको लागि समाचार त पठाएँ । अब त्यसपछि चिन्ता सुरु भो सुत्न कहाँ जाने ? चिनजान साथी संगत त धेरै थिए, तर त्यस्तो बेलामा सबैलाई आफ्नो चिन्ता थियो । कसैलाई म तँ बसेको ठाउँमा आउँछु है पनि भन्न सकिने अवश्था थिएन ।
म पाँचथरमा ९ कक्षा पढदै गर्दा देखी चिनजानमा रहेका एसएसपी कमल जिटीले छोरी बस्ने ब्यवस्था गरेउ भन्दै सोधे ।  मैले ‘छैन अंकल भर्खर समाचार पढाएं, अब खोज्छु भने । उनले आन्टी (उनकी श्रीमती), छोरी र अन्य नातेदार बसुन्धराको सार्वजानिक स्थलमा बसेका रहेछन् । म पनि त्यतै लागें । धर्मशाला जस्तो देखिने त्यो ठाउँ खचाखच थियो । पुरै शरिर तन्काएर सुत्ने ठाउँ थिएन । जसोतसो गरेर रात बिताइयो । भोलीपल्ट (भुकम्पको दोस्रो दिन) ग्रैहीधारामा रहेको डेरामा पुंगे । घरबेटी अकंल अलि अलि घर चर्कियो भन्दै थिए । हतार हतार माथिल्लो तलामा रहेको कोठामा गएर एकजोर लुगा, दाँत माझ्ने ब्रस र पेस्ट बोकेर तल झरें । अनि एक जग पानी मागेर मुख धोएर ब्रस र पेष्ट झोलामा हालेर हिडें । भुकम्प प्रभाबित काठमाण्डौंका गल्ली र टुँडिखेलमा बस्नेहरुको अवश्था हेरेर म फेरी प्रहरी मुख्यालय फर्किएं । मृतकको संख्या बढेको बढ्यै थिए । राहत तथा उद्धार टोलीहरु देखिन थालेका थिए ।
दिनभरी यता उता दौडिने, अनलाईनलाई समाचार टिपाउने काम गरिरहें । बिहानको खाना कतिचोटी सायद चाउचाउले टारें । कति चोटी प्रहरी मेषमा खाएँ । त्यस्तो ठुलो बिपद्मा सायद पहिलो पटक परेका कारण होला, खाने कुरा ‘ब्याकअप’ राख्न जानिएन । त्यो भुकम्प मेरो लागि मात्र होइन, मेरो समयकालका सबैका लागि नौलो थियो । कतिपय साथीहरु परिवारलाई बस्ने ठाउँ नभएको भन्दै कहिंकतैबाट त्रिपाल उपलब्ध गराइदिन अनुरोध गर्थे । लगातार आइरहेका धक्काले सबैलाई तर्साएको थियो । कोही ब्यक्ति घरमा थिएनन् । आधा रातसम्म मृतक र क्षतिको बिवरण सहित समाचार लेखेर पठाएपछि चार पाँच रात मैलै महिला प्रहरीको ब्यारेकमा सुतेर बिताएँ । एक रात घरमा सुत्न गएकी थिएँ, राती ३ पटक भुकम्प आएछ, म डरले ५ पटक भागिछु । त्यसो गर्नु सहज मेरा लागि पटक्कै थिएन । तर मैले सहज भन्दा पनि कामलाई प्राथमिकता दिएँ जस्तो लाग्छ । बस्न गाह्रो भएको भनेर कसैलाई गुनासो गरिन ।
भुकम्पका धक्का कम हुन थालेपछि काठमाडौं बाहिर बढि प्रभाबित भएका जिल्लामा समाचार संकलन गर्न जान पर्ने थियो । सबै साथीहरु आ आफ्नो तहबाट बाहिरी जिल्लामा गएर समाचार ल्याउने कोशिस गर्दै थिए । म पनि त्यहि दौडमा थिएँ ।
रसुवाको लाङटाङमा भुकम्पले ल्याएको हिमपहिरोमा परेर ४ सय भन्दा बढि स्वदेशी र विदेशी नागरिक पुरिएका थिए । दुईदिन बिमानस्थलमा ढुकेर बसेपछि जसो तसो गरेर सेनाको हेलिकप्टर चढेर त्यहाँ जाने मौका मिल्यो । बिमानस्थलमा हेलिकप्टर कुरेर भुईमा बस्दा समेत ल्यापटप खोलेर समाचार लेखिन्थ्यो । अहिले संझदाँ लाग्छ, त्यो बेला समाचार लेख्ने ‘जुनुन्’(यो शब्दको अर्थ आएन) थियो । रसुवा सदरमुकाम धुन्चे हुदै त्यहाँबाट लाङटाङ पुगिएको थियो । आठ दश जना सर्वसाधारण त्यहाँ थिए । सबैका आखाँ रसिला थिए । हिम पहिरोले आफन्त र घरबार सबै गुमाएपछि त्यहि हिमको थुप्रोतिर हेरेर बसिरहेका थिए । ७० बर्ष जति देखीने एक बृद्ध ब्यक्ति घर, श्रीमती र छोरा छोरी सबै पहिरोमा परेको भन्दै भक्कानो छाड्दै रुदैं थिए । पहिरो गएको दिन उनी त्यहाँबाट अलिपर रहेको हिउँ मापन गर्ने केन्द्रमा काम गर्न गएका रहेछन् । फर्केर आउँदा पहिरोले सबै सोत्तर बनाएको थियो । खान नपाएको गुनासो गरिरहेका थिए । मान्छे मात्र होइन, पहिरोबाट बचेका याकका पेट समेत केहि खाना नपाएर सुकेका देखिन्थे । यस्ता दृष्यले मन दुखी बनाउँथ्यो । उनीहरुका कुरा सुनेर मन भारी बनाउँनु बाहेक अरु उपाय थिएन । सुरक्षाकर्मीको टोली पहिरोमा पुरिएका लासको उत्खनन्का लागि आउँदैछ भन्ने थाहा पाएपछि पल्लो गाउँ क्यान्जिङबाट धपेडी गर्दै आफन्तहरुको लामो लस्कर आइरहेको थियो । उनीहरु हिउँले पुरीएका आफन्त फेला पारेर राम्रोसंग अन्तिम संस्कार गर्न चाहन्थे । उनीहरुलाई त्यहाँ पुरिएका आफन्तकाबारेमा सोध्नु उनीहरुको घाउ अझै ताजा बनाइदिनु थियो । कोही बोल्दा बोल्दै डाको छाड्थे । कोही दौडिएर पहिरोले बगर बनाएको ठाउँतिर जान्थे । यस्ता धेरै अवश्था आए, जहाँ प्रश्न सोध्न पनि कठिन लाग्थ्यो ।
भुकम्पमा परेर ज्यान गुमाउनेले त गुमाए । हराउनेको संख्या पनि उतिकै थियो । भुकम्प प्रभाबित उपत्यका सहित अन्य जिल्लाबाट २ सय ९० जना हराएको सुचना फेला परेको थियो । हराउनेहरुका आफन्तले प्रहरीलाई निवेदन दिएका थिए । यि तथ्याङक केलाउनका लागि एक सय भन्दा बढि आफन्तलाई फोन गरेर उनीहरुका बारेमा पत्ता लगाउने कोशिस गरेकी थिएँ । मैले कुरा गरेका बेपत्ताका आफन्तले उनीहरु फर्केर आउने कुरामा आश मारेका थिएनन् । परिवार छाडेर विदेश जान हिडेका, होटलमा ज्याला मजदुरी गरेका मान्छे हराएका थिए । भेटे जति सबै आफन्त आउने आशको त्यान्द्रो समातेर बसेका थिए । दिनहुँ प्रहरी कार्यालय जाने र त्यहाँबाट मृतकहरुको भिडमा खोज्न टिचिङ अस्पताल जानेहरुको ताँती नै थियो । टिचिङमा अर्को भयाभह अवश्था थियो । यता उता सबै तिर बेवारिसे लासहरु राखिएका थिए । कसैको हात, कसैको खुट्टा त कसैको आधा शरिर थिएन । आफन्त पहिचान गर्ने आधार भनेकै अन्तिम पटक उनीहरुले लगाएको कपडा, मालमा या केहि सामान थिए । त्यहि लासमा सर्वसाधारणहरु आफन्त खोज्दै थिए ।
राहत सामाग्री बोकेको हेलिकप्टर सिन्धुपाल्चोकको पाङताङ गाउँमा ‘ल्याण्ड’ गर्दा गाउँलेहरु झुम्मिदैं हेलिकप्टरको वरिपरी आए । भुईचालाले कुनै घर सग्लो राखेको थिएन । उनीहरुले बस्नका लागि त्रिपाल टाँगेर, रुखका स्याउलाले बारेर टहरो बनाएका थिए । मकै गोड्दै गरेकी एक महिला भुकम्पमा हराएको छोरो भेटिएको भन्दै दङग थिईन् । उनको छल्किरहेको खुसी र हाँसो क्यामरामा मात्र नभई मनमा पनि कैद गर्न लायक थियो । गाडीमा खलासीको काम गर्ने उनको १४ बर्षे छोरो ९ दिनमा जिवीतै भेटिएको थियो । अर्की ५ बर्षिय छोरी पनि घर भत्किएर पुरिएपछि ९ घण्टामा जिवितै उद्धार भएकी थिईन् ।
काभ्रेको धारे डाँडामा भेटिएका शेरबहादुर तामाङको बाबु आमा र नाति नातिना भुकम्पले लगिदियो । उनी सहित उनकी श्रीमती र बुहारी मात्र बाँचे । चार जनाको जुठो बारेका उनी भत्किएको घरले पुरेका सामानहरु निकाल्ने कोशिस गर्दै थिए । उनकी २१ बर्षे बुहारी टोलाएर बसेकी थिईन् । उनले ६ महिनाको छोरो र ५ बर्षे छोरी त्यहि घरमा गुमाइन् । विदेशमा रहेका उनका श्रीमानले त ६ महिनाको छोरोको अनुहार समेत देख्न पाएनछन् । अरनिको राजमार्ग पाँचखाल तामाघाटबाट झण्डै डेढघण्टा पैदल हिडें, धारे डाँडा पुगिन्छ ।  भुईँचालाले त्यो डाँडालाई अझै उराठ लाग्दो बनाएको थियो । हामी सञ्चारकर्मी समाचार खोज्न भनौं या उनीहरुको अवश्था सञ्चारमाध्यम मार्फत प्रकाशन प्रशारण गर्न त्यहाँ पुग्थ्यौं । तर धेरै सर्वसाधारण हामी नै सहयोगका समाग्री लिएर वा सरकारी प्रतिनिधि बनेर आएको सोच्थे । उनीहरुसँग गफ गर्न र उनीहरुका फोटो खिच्न बाहेक अरु केहि मदत गर्न नसक्दा मनमा कता कता हिनताबोध हुन्थ्यो ।
सिन्धुपाल्चोककै मेलम्ची भन्दा माथिल्लो गाउँ तिम्बु पुग्दा एउटी महिला भुकम्पमा परेर कुच्चिएका भाडाँ सोझ्याउँदै थिईन् । मैले भेटे मध्ये ३१ बर्षिय डोल्मा मात्र यस्ती महिला थिईन्, जसको परिवारमा भुकम्पले मानबिय क्षति गराएन । श्रीमान र छोराछोरीलाई केहि भएन । उनको अनुहारमा घर भत्किदाँको दुख भन्दा बाँचेको खुसी छल्किरहेको थियो ।
उनी किलो ठोक्ने ह्याम्मरले मम बनाउने भाडाँ उनी ठोकिरहदाँ उनका श्रीमान छिमेकीको घर बनाउन मदत गरिरहेका थिए । गाडी छाडेर झण्डै दुई घण्टा खेतका आली र कान्लाहरु छिचोल्दै त्यहाँ पुग्दा गाउँलेहरु एक अर्कालाई आपत पर्दा सरसहयोग गरिरहेका थिए । भुकम्पको कम्पनले धर्ति हल्लाउँदा पहाड झरेर खस्ला भन्ने डरले मानिसहरु सम्म ठाउँ खोजिरहेका थिए । त्यस्तै पहाडमा सुरक्षाकर्मीहरु ज्यान हत्केलामा राखेर भुकम्पबाट प्रभाबित भएका सर्वसाधारणको खोजी गरिरहेका थिए ।
अर्को दिन सिन्धुपाल्चोकको तातोपानी नाका जादाँ लगातार आइरहेका कम्पनले म चढेको गाडीमा ढुंगा बर्षाइरहेको थियो । सीमामा पुग्दा सडक किनारमा राखिएका गाडी सोत्तर थिए । बजार चकमन्न थियो । बैङकका शाखामा सुरक्षागार्ड मात्र थिए, उनी पनि कुनबेला ठुलो कम्पन आउला र पहाड झरेर पुर्ला भन्ने डरमा बाँचिरहेका थिए । दुईतिर ठुला ठुला पहाडका बिचमा रहेको तातोपानी नाका बन्द थियो । ब्यापार हुने कुरै भएन । मानिसहरु राम्रो बासस्थानको खोजीमा हिडिरहेका थिए ।
भुकम्पपछिका १२ दिन कतै खुसीका, कतै दुखका समाचार लेखेर बिते । यता उता भाग्दा थाकेको महसुस भएन । नयाँ समाचार खोजिरहन मन लाग्यो । भुकम्पले बनाएको सर्वसाधारणको घाउमा समाचारका माध्यमबाट मलहम लगाइदिन मन लागिरह्यो ।

Sunday, September 9, 2018

मेरा हुलाकी बुवा

बुवा जिवित हुनुहुन्थ्यो भने, सायद म यी कुराहरु लेख्दिन थिएँ । तीन बर्ष अघिसम्म त बुवालाई फोन गरेर हरेक साल झै मुख हेरें है बुवा भनिदिन्थें । बुवाले पनि फिस्स हाँस्दै ‘देखिस् त कस्तो रैछ’ भन्नुहुन्थ्यो । 
प्रतिमा बाँस्कोटा
मेरा बा दैनिक आठ घण्टा हिडेर थाकेको शरिर लिएर घर आइपुगेपछि खुईया गर्दै लौरो सिकुवाको काठमा चेपेर अड्याउनु हुन्थ्यो । ४५ बर्षमा पनि ६० बर्षे भैंm देखिने मेरा बुबाको दैनिकी यस्तै थियो, झोला भरी चिठ्ठी पत्र बोकेर हरेक दिन आठ घण्टाको हिंडाइ । चार घण्टा चिठीपत्र पुर्याउन र ल्याउन चार घण्टा । उमेर नढल्किदै बुढ्यौली लागेजस्तो देखिने शरिर, हरेक दिनको थकान, चाउरी परेका गाला । घर पुग्नासाथ गाईबस्तुको चटारो, परिवार प्रतिको दायित्व, सँधै केही नपुगेको जस्तो र केही खोजी रहेका जस्ता गाढिएका आँखा । बुबाको स्मरण यही र यस्तै परिदृष्यबाट सुरु हुन्छ । 
हामीसँग जुन कुरा साथमा छ, त्यसको महत्व धेरै हुदैन । आज मेरा बुवा जिवित हुनुहुन्थ्यो भने, सायद म यी कुराहरु लेख्दिन थिएँ होला । तीन बर्ष अघिसम्म त बुवालाई फोन गरेर हरेक साल झै मुख हेरें है बुवा भनिदिन्थें । बुवाले पनि फिस्स हाँस्दै ‘देखिस् त कस्तो रैछ’ भन्नुहुन्थ्यो । अब त बुवाले मेरो आवाज सुन्नु हुन्न । तर पनि लाग्छ, बुवाले मलाई हेर्दै हुनुहुन्छ । म सुखी हुदाँ बुवा हाँस्नु हुन्छ होला । म रुदाँ मन अध्यारो पार्नुहुन्छ होला ।
============
मेरा बुवा हुलाकी हुनुहुन्थ्यो । अपरान्ह बुवा घर आएको संकेत पाउनासाथ कटेरामा बाँधेका गाईबस्तु कराउँथें । घरमा खेल्दै बसेका हामीहरु गाईबस्तु कराएपछि हत्तपत्त काम गर्न थाले जस्तो गथ्र्याैं, बुवालाई देखाउन । गाई भैंसीलाई घास हालिदिने देखी पानी दिने गोबर सोर्ने गथ्र्यौं । गाईबस्तुसंगको लगाब भन्दा पनि बुवाको गालीबाट जोगिन हामी त्यसो गथ्र्यौं । गाईबस्तुसँग बुवाको प्रेम र लगाव बडो अचम्मको थियो ।
मैले जानेबुझे देखिनै बुवा बिहानै झिसमिसेमा एउटा बोरा बोकेर लौरो टेक्दै उकालो लाग्नुहुन्थो । आमाले पकाएर दिएको चिया पिएर बुबाको दैनिकी सुरु हुन्थ्यो । यो हरेक दिन बिहान उठेर यसरी नै जानुहुन्थ्यो । अनि ४ बजे तिर फर्केर आउनुहुन्थ्यो । बुवा घर आइपुग्दा थलामा बाँधेका गाईबस्तु भोका देखे हामीले गाली खानु त निश्चित नै थियो । उस्तै परे झापड पनि खाईन्थ्यो ।
हामी बुवासंग धेरै डराउँथ्यौं । धेरै समयसम्म बुवा हाम्रो लागि ‘हाउगुजी’ जस्तै रहनुभयो । स्कुल जान कपि पेन्सिल देखी लुगा किन्न समेत आमाको पछि लाग्थ्यौं । हाम्रो बाल्यकाल संयुक्त परिवारमा बितेर पनि हुनसक्छ । हामी बुवासंग भन्दा हजुरबुवा र हजुरआमासँग बढी नजिक थियौं । हामीले घरमा बसेर बदमासी गरे हजुरआमाले बुवालाई सुनाई दिनुहुन्थ्यो । यस्तो बदमासी गरेको भनेर कतिपटक बुवाको हात हाम्रा गालामा बजारिएका पनि थिए ।
हामी संयूक्त परिवारबाट अलग्एिपछि मलाई स्कुल पढिञ्जेलसम्म सधैं लाग्थ्यो, बुवा हामीलाई माया नै गर्नुहुन्न । जब म गाउँबाट क्याम्पस पढ्न पहिलो पटक काठमाडौं आए बुवाको माया त मलाई त्यो बेला महसुस भयो । राजधानी आएको एक महिनापछि दशै मान्न घर फर्केर गए । मट्टितेल हालेर बालेको कुप्पीको उज्यालोमा बुवाले हेर्दा मेरा आखाँ दुब्लाएको देख्नुभएछ । ‘च्व च्व च्व हेर, हेर मेरा चोर्नीका आखाँ दुब्लाएछन् ।’ बुवाले त्यसरी मलाई हेर्दा र उहाँको अभिव्यक्तिले मेरो मनमा अर्कै तरङग अनुभव भयो । ओहो मेरो बुबाले मलाई यत्ति धेरै मायाँ गर्नु हुँदो रहेछ । मैले त्यही दिन बुबाको माया महशुस गरे ।
=====
एकपटक म दादा (दाइ)हरुसँग घाँस काट्न उनीको पछिपछि लागेकी थिएँ । घर नजिकैको खेत जाने भनेका दाइहरु कता गए कता । म एक्लै खेतमा दादाहरु खोज्दै रुन थालें । धारामा पानी थाप्न जानु भएको बुवाले म रोएर सुनेर खेतमा आउनुभयो । अनि नरो भनेर मैले बोकेको डोका भरी घाँस काटेर मलाई लिएर घर जानु भयो । बुवा हामीलाई माया गर्नुहुन्थ्यो तर देखाउन जान्नुहुन्नथ्यो । जस्तो अहिले मलाई लाग्छ । मेरा बाले मोबाईल जीवनका दुई बर्ष पनि राम्रोसंग बोक्न पाउनु भएन होला । काठमाडौंबाट फोन गर्दा सधैं बोल्न नमाने भैंm लाग्यो । तर पछि थाहा भयो, बुवालाई मसंग बोल्न मन नभएको होईन, बुवा त्यो दुराभाष यन्त्र हाम्रो करले बोक्दै हुनुहुन्थ्यो । बुवालाई त्यो मोबाइल साह्रै सहज लाग्थ्यो । बुवाको मोबाइलामा फोन आउँदा ‘ए देबेन्द्रेकी आमा, फोन उठा’ भन्दै ममीलाई जिम्मा लगाइदिएको देखेपछि त्यो भ्रम पनि तोडियो ।
म काठमाडौं आएर बस्ने क्रममा अत्यन्तै ठुलो समस्यामा परें । आफूले समाधान खोज्न नसकेपछि बुवा ममीलाई बताएँ । उहाँहरुलाई आफ्नो समस्या सुनाउँदा सुनाउँदै मेरा आखाँबाट कुन बेला आशुँ झरे, थाहा छैन । तर बुवाले मलाई पहिलो पटक अगांलो हाल्नुभएको थियो । मसंगै बुवापनि रुनुभयो । ‘तेरा लागि म छु,’ भनेको अहिले पनि झल्झली याद आउँछ ।
======
बुवा १५ दिन आफ्नो हुलाक बोक्नुहुन्थ्यो । बाँकी १५ दिन हजुरवुवाको । मेरा हुजुरबुवा पनि हुलाकी नै । बुवाले भन्नुहुन्थ्यो, १४ बर्षको उमेरदेखी हुजुरबुवाको हुलाक बोक्न थाल्या रे । हजुरबुवाको हुलाक बोकेर जादाँ बाटो बिर्सिएर दुई दिनसम्म हराउनु भयो रे । एक पटक त जंगलमा हराएर २ दिनसम्म केहि नखाई बस्नु परेको थियो रे । बुवाले  आफ्नो जीवन बयान गर्दा गर्दै हाम्रा आखाँ पनि भरिएर आउथें । सिकुवामा राखिएको खाटमा बुवा बसेर आफ्नो जीवन बयान गर्दा हामी बुवाको वरपर झुम्मिएका हुन्थ्यौं ।
अहिले त पाँचथरको याङनाममा गाडी पुग्छ । भाडाको गाडी पनि चल्न थाल्या छ । २० बर्ष अघि बुवा हुलाक बोकेर दैनिक ८ घण्टा हिड्नुहुन्थ्यो । खागीका जुत्ता लाएर पहाडको बाटो हिड्दा बुवाका पैताला चर्चरी फाटेका हुन्थे । तर कहिलै काम साह्रो परेको सुन्न परेन । बुबाले पेशा र हामी प्रति देखाएको स्नेह इमान्दारीता र मेहनत संझदा आज पनि उर्जा मिल्छ ।
सबैले बाको मुख हेरेको देख्दा मेरा पनि बा भइदिए हुन्थ्यो, जस्तो लाग्छ ।

Sunday, April 8, 2018

अन्तिम शब्द

सास फेर्न मैले पनि पाउनुपर्छ

सुनेकी थिएँ, गर्भमा ९ महिना बच्चा राख्न गाह्रो हुन्छ रे । जन्माउँदा आमाले पाउने प्रसब पिडा उतिकै खपिनसक्नु गाह्रो हुन्छ रे ।
मासिक रक्तश्राप भएर शरिरबाट केहि थोपा रगत निस्कदाँ पेट दुखेर मरिहत्ते हुन्थ्यो । आमाले मलाई कति मुस्किलले जन्माइन् होला । तराईमा खानपिउन उतिकै गाह्रो थियो । बाचिञ्जेलसम्म मैले यहि सोचिरहें, धेरै पटक सोचिरहें । आमा भगवानको अर्को रुप थिइन् । लाग्थ्यो, आमाको चर्चा नगरि मेरा दिन जादैन थिएं । आमा मेरा लागि के थिईन्न र ? तपाईलाई यो बताईरहदाँ, म यो संसारमा छुईन । 
मेरी आमाले मलाई घाँटी थिचेर मारिन् । फेर्दा फेर्दैको सास रोकियो । आमाले नै प्राण लिन खोजेको देखेर होला । मेरो शरिरले बचाउका लागि केहि हरकत गरेन । सायद भित्र भित्रै मरिसकेको थियो । या भनौं, आमाको त्यो रुप देखेर सद्मामा गएको थियो । आमाले मात्र कहाँ हो र ? बुवा र आमाले मिलेर मलाई मारे ।
थाहा छ किन मारेका अरे मलाई ? मेरो चालचलन ठिक भएन अरे । म काठमाडौंमा पढ्दै गरेको मेरो क्याम्पस ब्यवस्पानले मेरो चरित्र ठिक नभएको निचोड निकालेर बुवालाई खबर गरिदिएको अरे । चालचलन भनेको के हो ? यो कसरी मापन हुन्छ ? हाँसेर दुई चार जनासंग बोल्नै नहुने ? केटा साथी बनाउनै नपाउने ? यति पनि छुट दिन नसक्ने भए जन्माएको किन ? आमाले ९ महिना पेटमा बोकेको किन ? आमालाई जन्माउन हुर्काउन भन्दा अहिले १९ बर्षको कलकलाउँदो जीवनमा छोरीको प्राण लिन सजिलो किन ?
अहिले सोच्दैछु बुवा आमाका लागि छोरी के हो ? कसैले भन्ला, घरकी लक्ष्मी, कसैले घरका गहना,  कसैले कुलको इज्जत । इज्जत छोरीका कारण मात्र किन जाने ? छोरी नै हिंसाका शिकार किन हुने ?

...........
 त्यो दिन काठमाडौंको बिहानमा खासै फरक त थिएन । घाम त्यहि ठाउँबाट उदाएको थियो । फरक यति थियो, बिहान मेरो कोठाको ढोका खोल्दा ठिङरिङग उभिएका आफ्ना बाबु देखें । उनी त्यहाँ किन थिए, थाहा थिएन । मेरो हाल खबर पनि सोधेनन् । अचानक झोला बाँध घर जाने भन्न थाले, मैले आनाकानी गर्दै कारण सोधें । उनले बोल्न नदिई, जबरजस्ती मलाई लिएर घर गए ।
कलंकीबाट हामी चढेको बस छुट्यो । बससंगै काठमाडौंसंगको मेरो साथ पनि ।  बाटाभरी बाबु छोरी बिच केहि संवाद भएन । मेरा मनमा भने अनेंकौ कुरा खेलिरहे । बिचमा पढाई छाडेर मलाई कता लग्या होलान ? किन होला ?  बुवाले नबुझेको कुरा आमाले बुझलिन् भन्ने बिश्वास थियो ।बच्चपनमा पनि बाबुले पिट्न खोज्दा कैयौं  पटक आमाको धोतीको फेरो भित्र लुकेर बाबु कुटाईबाट बचेंकी थिएं । मनमा त्यो आश जिवीतै थियो । 
घर नपुग्दासम्म म माथी के हुदैंछ, मलाई थाहा थिएन । मेरो बिहेको कुरो छिनेको थियो । गाउँकै एक युवकसंग । कुरो छिनेपछि ति युवकलाई म मनपरिनछु, अनि उनले बिहेको लागि इन्कार गरिदिएछन् । मेरो बाबु आमाले त्यसको दोष पनि मलाई नै दिए । मैले काठमाडौंमा केटा साथीहरु बनाएर अक्षम्य अपराध गरेकी रैछु, मेरा अभिभाबकको नजरमा  ।
आमालाई टाउको झुकाएर ढोग गर्दा आर्शिवाद देलिन भन्ने आश थियो । आमा बाबु त मलाई मार्ने योजना बनाइसकेका रहेछन् । त्यति मात्र कहाँ हो र ? मारेपछि कसरी मेरो लास जलाउने देखी कसरी प्रहरीसंग जोगिनेसम्मका तयारी गरेर मलाई लिन आएका रहेछन् । मलाई उनैले धरतीमा ल्याए । अनि उनैले मेरो इच्छा बिना नै धड्कन रोके ।
बाबु आमाले कुटीकुटी मेरो हत्या गरेर मलाई जलाइरहेका थिए । म जलिरहेको आगोबाट निस्किएको धुवाँले चिच्याइ चिच्याई भनिरहेको थियो, आमा बुवाका लागि अभिषाप थिएँ म ।  धुवाँ र खरानी भएर आकाशमा समाहित हुन खोजिरहदाँ आमाको अनुहार हेरेकी थिएँ, उनको अनुहारमा  पश्चाताप अलिकति पनि देखिन । अनि मलाई आमा भन्ने शब्दसंग घृणा भयो ।
टेलिभिजन र सामाजिक सञ्जालमा आमा बाबुले नै छोरीहरु मारेको समाचार र कहानी सुन्दै आएकी थिएं । अचम्म लाग्थो, कस्तो मन भएका आमा बुवाले त्यस्तो गर्छन् होला जस्तो लाग्थो । आज आफ्नै बाबु आमाले मलाई त्यसरी नै मारे । तपाई यो पढ्दै गर्दा म कहिं कतै आकाशमा हुनेछु । बादलमा धुवाँ भएर बिलिन भइसकेको हुनेछु ।
यति भन्न चाहन्छु, समाज र दुनियाँलाई देखाउन कै लागि मात्र छोरीको जीवन होइन । पुतलीले पनि पखेटा लागेपछि आफ्ना छोरा छोरीलाई उड्न दिन्छ । के तपाई दिन सक्नुहुन्न ? त्यति आजादी दिन सक्त्तैनौं भने गर्भमै मारिदेउ ।
(जनकपुरमा आमा बुवाले नै कुटेर हत्या गरेकी १९ बर्षिय किशोरीमा समर्पित)

Friday, September 18, 2015

आफ्नै बुहारीबाट बेचिएकी महिलाको बयान

उनीसंग कुरा गर्दा आखाँ भरिएर आए । उनी हिक्का छोड्दै रुदाँ उनलाई के भनेर सम्झाउने मसंग कुनै शब्द थिएन । झण्डै मेरी आमाको उमेर बराबरकी महिला कुटनैतिक आवरणमा रहेका राक्षसहरुको शिकार बनिन् । उद्धार भएर नेपाल त आईन् । उनी चिन्ता मुक्त अझै थिईनन् । आफ्नै बुहारीले उनलाई बेचेकी थिईन्, पहिला देखी नै वेबास्ता गर्ने छोराहरुको रबैया अब उनी माथी के होला ? केहि त बेचबिखन बिरुद्ध काम गर्ने संस्थाले उनलाई पालेर राखेको छ । त्यहाँबाट निकालेपछि उनी कहाँ जान्छिन् ? कहाँ बस्छिन् ? उनीसंगै उत्तर छैन । उनी कसरी राक्षसहरुको पञ्जामा परिन् ?, उनी माथी के के भयो ?  


आश्विन १, २०७२- सुन्तली तामाङ, ४८ र मीना नेपाली, २६ (दुवैको नाम परिवर्तन), बुधबार केन्द्रीय अनुसन्धान ब्युरोको एउटा कोठामा धुमधुम्ती बसिरहेका थिए । भारतको नयाँदिल्लीस्थित साउदी दूतावासका कर्मचारीले यी दुई महिलालाई तीन महिनादेखि याैन शाेषण गरेका थिए । उनीहरुले आफ्नो सामूहिक बलात्कार भएको बयान दिएका थिए । दार्जिलिङ घर भएकी एक नेपालीभाषी युवतीले यी दुई महिलाको उद्धारमा मद्दत गरेकी थिइन् । उनीहरूलाई एक साताअघिमात्र दिल्लीबाट उद्धार गरी नेपाल ल्याइएको हो । ब्युरोमा उनीहरूलाई नेपालबाट भारत पठाउने दलाल चिनाउन डाकिएको थियो । दिउँसोदेखि नै ल्याएर राखिएका उनीहरू आफूलाई ‘बेच्ने’ महिला र पुरुषको प्रतीक्षा गरिरहेका थिए । ती मध्येकी सुन्तली बेचैन देखिन्थिन् । कारण, उनले आफ्नै बुहारीलाई आफूलाई बेच्ने दलाल भएको प्रमाणित गर्नु थियो । ‘छोराले हेला त गरेको थियो नै, बुहारीले यसरी बेच्ली भन्ने थिएन,’ पछ्यौराको सप्कोले आँसु पुछदै उनले भनिन्, ‘सुख पाउन लेखेकै रहेनछ ।’ 
झन्डै १८ वर्षअघि पतिको कुटपिट सहन नसकी उनी भागेर काठमाडौं आइन् । त्यो बेला जेठो छोरो १५ वर्षका थिए । उनीमुनिका दुई छोरी र छोरा एक/एक वर्षको फरकमा थिए । उनीहरूलाई सासूससुराको साथ छोडेर उनी काठमाडौं आएकी थिइन् । पेट पाल्न र बाँच्न काठमाडौंको एक मेडिकल कलेजमा सरसफाइको काम गरिन् । निकै वर्ष मेडिकल कलेजमा काम गरेपछि एक दिन उनलाई छोरीको फोन आयो । छोरीले आफूले बिहे गरेको भन्दै एक्लै नबस्न आग्रह गरिन् । एक्लो मजदुरी जीवनबाट दिक्क उनी छोरीसँग बस्न तराई झरिन् । छोराहरूले पनि बिहे गरेको खबर उनलाई आइरहेको त थियो, तर छोराहरूले उनको खोजी एकपटक पनि गरेनन् । छोरीको पनि घरको स्थिति खासै राम्रो थिएन । छोराहरूले हेला गरेका बेला उनलाई आफ्नो भविष्यको चिन्ता थियो । अन्तत: उनले विदेश जाने विचार गरिन् । छोरीसँग बसेको ७ वर्षपछि उनी चिनेको मान्छेमार्फत साउदी अरब गइन् । साउदीमा महिनाको ६ सय साउदी मुद्रा पाउने गर्थिन् । उनले खुरुखुरु छोरीलाई पैसा पठाइदिइन् । २ वर्ष बसेपछि नेपाल फर्किएकी उनी छोरीको घर गइन् । छोरीले उनले पठाएको पैसाले सुन किनेर राखिदिएको भने पनि उनलाई न सुन दिइन् न पैसा नै । ‘छोरीको घरमा यतिकै बस्नुभन्दा फेरि विदेश जाने कुरा छोरीसँग गरें,’ उनले भनिन्, ‘छोरीले सुरुमा नजाऊ भन्दै थिई, मैले २ वर्ष बसें भने बुढेसकाललाई खर्च लिएर आउँछु भनेपछि छोरीले पनि सहमति दिई ।’ 

अघोषित सम्बन्ध/आधुनिक कथा

प्रतिमा बाँस्कोटा सरी है," हतारमा एक युवतीसँग ठक्कर खाएपछि झसंग हुँदै मैले भनें। उसले आँखाको कालो ठूलो गगल्स निकाल्द...